काठमाडौं - नेपाली सिनेमामा नयाँ आयाम कोर्दै बहुप्रतिक्षित फ्लिम ‘लाज शरणम्’ले आफ्नो प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेको छ । तीन मिनेट ५२ सेकेन्डको गीत बिहीबार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।
'हेर्दा हेर्दैमा'को गीतमा संगीत कृष्ण भारद्वाजले दिएका छन् भने स्वर आशीष अविरल र शान्तिश्री परियारले दिएका छन् । गीतका शब्दहरू आनन्द अधिकारीले रचना गरेका हुन् भने मिलन विश्वकर्माले रंग संयोजन गरेका छन्।
स्वर, संगीत र दृश्यको त्रिवेणी मिसिएको ‘हेर्दा हेर्दैमा’ गीतले प्रेमका अनन्त अनुभूतिहरूलाई शब्द, संगीत र अभिनयको माध्यमबाट आत्मसात् गराएको छ। गीतमा रहेको रोमाञ्चकता, मिठास र गहिराइले दर्शकलाई एक अलग अनुभूतिको संसारमा डोर्याउनेछ।
हरेक मुद्रामा कला, हरेक चालमा भाव अनि हरेक गतिको धुनमा फरक अन्दाजका साथ नृत्य निर्देशक गम्भीर बिष्टको सृजनात्मक कौशलले ‘हेर्दा हेर्दैमा’ लाई नयाँ उचाइमा पुर्याएको छ। स्वर जति दमदार छ भिडियो पनि उतिकै उत्कृष्ट बनाउन उनको अथाह प्रयास देखिएको छ । नाच्न नआउने कलाकारलाई नचाउने, मनमोहक दृश्य, प्रप्स र लगभग २ सयमाथि कलाकारलाई ३ मिनेटको भिडियोमा निकै सरलता पूर्वक नचाएर एक पटक फेरि आफ्नो कौशलता प्रस्तुत गरेका छन् । गीतको सहायक कोरियोग्राफरमा सुरेन बस्नेत र रोशन विश्वकर्मा रहेका छन्।
‘लाज शरणम्’ फिल्मको यो गीत केवल संगीतको सौन्दर्य मात्र नभई, पर्दामा देखिने कथाको झल्को दिने एउटा गहकिलो सङ्गीतिक अभिव्यक्ति हो। गीत सार्वजनिक भएसँगै यसको लय, शब्द र भावनात्मक उचाइले दर्शक तथा श्रोतामाझ अत्यधिक चर्चा बटुल्ने अनुमान गरिएको छ। गीतको छायांकन डीओपी सुदीप बरालले गरेका छन् भने सम्पादन प्रवीण भट्टले गरेका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य भूमिका रहेका अधिकांश कलाकारको नृत्य देख्न सकिन्छ। फिल्ममा विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’ मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, प्रशान्त ताम्राकार, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, गजित बिस्टलगायत कलाकारको नृत्य/अभिनय छ।
छोटो समयमा म्युजिक भिडियो बनाएर हतार-हतार गीत रिलिज गर्नुले निर्माण पक्षको केही कमजोरी भने देखिएको छ । त्यत्रो साजसज्जामा बनेको म्युजिक भिडियोलाई अझै राम्रो र दमदार बनाउन सकिन्थ्यो । जुन अपेक्षा राखेर आम दर्शकले यो गीतको प्रतिक्षा गरेका थिए त्यसमा भने केही निराशा थपेको छ ।
गित र फिल्म जस्तो भएपनि लाज शरणम् ले घाटा भने बेहोर्नु पर्दैन । एक दर्जन माथि सहयोगी दाता पाएको जेपीटी क्रियसनले आफ्नो फिल्मलाई आर्थिक रूपमा सुरक्षित स्थानमा राखिसकेको छ ।
‘हेर्दा हेर्दैमा’ गीतले विभिन्न स्टेज कार्यक्रममा राम्रो ठाउँ पाउनेछ । नृत्य निर्देशक , स्कुल, कलेज र विभिन्न सांस्कृतिक कार्यक्रममा नाच्ने र नचाउनेले नयाँ गीत आएसँगै राहत पाएका छन् । सधैँ पुराना गीतमा नाच्न बाध्य भएका कलाकारहरूले नयाँ गीत पाएका छन् र आगामी दिनमा सुर्के थैली , परान परान , बुट्टे रुमाल सँगै यो गीत पने बज्ने आशा राखिएको छ ।
अब दर्शकहरू ‘लाज शरणम्’ मा रहेको गहिरो कथा बुझ्न झनै आतुर भएका छन्। डार्क ह्युमर कमेडी फर्ममा निर्माण भइरहेको लाज शरणम् को ‘हेर्दा हेर्दैमा’ ले उब्जाएको उत्सुकता र भावनात्मक तरङ्गले फिल्मको प्रतीक्षालाई अझ शिखरमा डोर्याएको छ ।
उक्त फिल्म महाशिवरात्रि (फागुन १४ गते)मा देशभरका हलहरूमा प्रदर्शन हुँदैछ। यस फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन्। नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माता छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।