
काठमाडौं - खानेपानी मन्त्री प्रदिप यादवले एक वर्षभित्र ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानीको सुविधा प्राप्त गर्ने बताएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिकाको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिको नव निर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले २७ प्रतिशत नागरिकले मात्रै शुद्ध पानी पिउन पाएको बताएका हुन् ।
अबको एक वर्षमा ५७ प्रतिशतले उक्त सुविधा प्राप्त गर्ने गरि सरकारले काम गरिरहेको र खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी ३० प्रतिशत उपभोक्ता समितिलाई कर तिर्नुपर्ने बाध्यता भएको बताउँदै उनले यो सबै नागरिकको हितमा नभएको बताए। ‘हामी यस्ता निर्देशिका खारेजीको तयारीमा छौँ’, मन्त्री यादवले भने।
खानेपानी आयोजना निर्माण र शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धि गर्न दातृ निकायको समन्वय र सहयोगमा तीव्र गतिमा काम भएको जिकिर गरे । मन्त्री यादवले आगामी वर्षको बजेट र कार्यक्रम निर्माणमा देशभरका ४२ हजार उपभोक्ताको हित र आवश्यकता अनुसार सरकार नागरिकलाई सहुलियत दिन निर्माण भएको बताए ।
यादवले उपभोक्ता समिति जसको आम्दानी छैन उसैलाई कर लिने परिपाटी अन्त्य गर्ने तरखरमा रहेको समेत जनाए। लामो समयदेखि खानेपानी ऐन अलपत्र रहेकोमा गत साता खानेपानी नियमावली निर्माण गरी कार्यान्वयन गरिएको उनले बताए ।
जिल्ला सदरमुकाम चौतारासहितका क्षेत्रमा खानेपानी सेवा वितरण गर्दै आएको जुगल थालखर्क होल्चे खानेपानी आयोजनाले प्रतिसेकेण्ड २५ लिटर पानी वितरण गर्नेगरि प्रशोधन केन्द्र, चार लाख लिटर क्षमताको दुई ट्यांकी र साढे दुई तले कार्यालय भवन निर्माण सम्पन्न गरेको समितिका अध्यक्ष सुवास कर्माचार्यले बताए।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुर र जापानीज सहयोगी संस्था जाइकाले ९ करोड ७ लाख लागतमा संरचना निर्माण सम्पन्न गरेको हो।