
काठमाडौं - बालकृष्ण सम नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र हुन् । नेपाल नाट्य विधालाई आधुनिक युगमा लाने श्रेय उनलाई जान्छ । सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। उनै समको आज १२३औं जन्मजयन्ती उनी र उनका कृतिहरूलाई सम्झँदै मनाइएको छ ।
उनको जन्म वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो । उनी नेपाली साहित्यका नाटककार र चित्रकार थिए । उनी राणा परिवारका थिए । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले 'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' मात्रै लेखेका थिए ।
उनका कृतिहरू
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा , मुकुन्द-इन्दिरा , प्रह्लाद, अन्धवेग , भक्त भानुभक्त , प्रेमपिण्ड , अमरसिंह, स्वास्नीमान्छे आदि पर्दछन्। यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द-इन्दिरा, म आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्।
यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द-इन्दिरा, म आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्। त्यस्तै, ध्रुब, प्रह्लाद आदि पौराणिक नाटक हुन् भने स्वास्नीमान्छेचाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा ध्रुब, प्रह्लाद, मुकुन्द-इन्दिरा आदि संयोगान्त तथा मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड आदि दुःखान्त भएका छन्।
उनका बोक्सी, नालापानीमा, बिरामी र कुरुवा, रणदुल्लभ जस्ता उत्कृष्ट र सबल एकांकीहरू पनि प्रकाशित छन्।
उनी विभिन्न पुरस्कार तथा सम्मानबाट शुसोभित भएका थिए । उनले गोरखा दक्षिणबाहु तेस्रो,गोरखा दक्षिणबाहु दोस्रो,रत्नश्री स्वर्णपदक,गोरखा दक्षिणबाहु प्रथम,साझा पुरस्कार,त्रिभुवन पुरस्कार, त्रिभुवन विश्वविद्यालयबाट विशेष उपाधि,प्रिथिबू प्रज्ञा पुरस्कार जस्ता पुरस्कार तथा सम्मान पाएका थिए । उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ।
उनले विभिन्न संघ संस्थामा रहेर काम गरेका थिए । उनी गोरखापत्रको सम्पादकसमेत भएका थिए।
उनको मृत्यु वि.सं. २०३८ साल साउन ६ गते, पशुपति आर्यघाट, काठमाडौँमा भएको थियो।