Harsamaya
 ‘लाज शरणम्’ को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ आज रिलिज हुने
फिल्म "लाज शरणम्" को प्रमोशनल गीत 'हेर्दा हेर्दैमा' ।

काठमाडौं - २०८१  नेपाली सिने क्षेत्रको लागि स्वर्ण वर्षको रुपमा रह्यो ।  एक पछि अर्को चलचित्रले दर्शकहरूलाई हलसम्म ताने । नेपाली चलचित्र भनेसी नाक खुम्च्याउने दर्शकहरूले नेपाली सिनेमालाई अपार स्नेह र माया दिए । वर्षौपछि  दर्शकको बाढीले हल भरिपूर्ण भए । केही फिल्मले राम्रो व्यापार गरे पनि केही फिल्मले भने लगानी पनि उठाउन सकेनन् । समग्रमा नेपाली फिल्म उद्योगमा भने नयाँ उत्साह ल्यायो । यो सबैका लागि सकारात्मक कुरा हो । २०८१ मै प्रदर्शनको पर्खाइमा रहेको फिल्म हो  लाज शरणम् । जुन आउँदो महाशिवरात्रिका दिन प्रदर्शन हुने भएको छ । 

 डार्क ह्युमर कमेडी फर्ममा निर्माण भइरहेको लाज शरणम् को प्रमोशनल गीत हेर्दा हेर्दैमा सार्वजनिक हुने निर्माण पक्षले जानकारी दिएको छ । 

नेपाली हास्य टेलिसिरियल ‘सक्किगोनी’का टिम जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कुमार कट्टेलले गरेका छन् । नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे ‘पाँडे’ कार्यकारी निर्माता रहेका छन्।

थुप्रै नेपाली फिल्ममा खलनायकको भूमिका निभाएका कलाकार मुकुन्द श्रेष्ठ  ‘कोहिनुर’ पश्चात् गायब भएका थिए । उनी १० वर्ष पछि ‘लाज शरणम्’  मार्फत फेरि पर्दामा देखिने भएका छन् ।

कोरोना महामारीको संक्रमण र लकडाउन अघि २०७६ को  अन्तिम फिल्म ‘सेन्टी भाइरस’ नामक फिल्मपश्चात् हराएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’  पनि ५ वर्ष पश्चात् फिल्ममा शीर्ष भूमिकामा देखिने भएका छन् । पूर्व मन्त्री मोहोम्मद अफताब अलामसँग सुहाउँदो गेटअपमा उनी देखिएका छन् ।

सन २०१५ सालमा चलचित्र ‘वान वे’ बाट डेब्यु गरेकी तथा ‘काले दाइ काले दाइ’ गीतकी  मोडलको रूपमा परिचित माला लिम्बु पनि सोही फिल्ममा देखिएकी  छिन् । उनले अहिलेसम्म पाँच वटा फिल्ममा अभिनय गरेकी छिन् । ‘दुबई काठमाडौँ’ , ‘वाइ वे’, ‘पुरानो बुलेट‘ र ‘पर्व‘लयागत फिल्ममा उनको अभिनय छ । उनले ५० भन्दा बढी म्युजिक भिडियोहरूमा अभिनय र डान्स गरेकी छिन् । जेपिटि क्रिएसनले आफ्नो फेसबुक पेजमा बुधबार सार्वजनिक गरेको पोस्टरमा लिम्बु, धुर्मुस र मुकुन्द देखिएका छन् ।

गीतका शब्दहरू आनन्द अधिकारीले रचना गरेका छन् भने मिलन विश्वकर्माले रंग संयोजन गरेका छन्। यस गीतको कोरियोग्राफी गम्भीर विस्टले गरेका छन् भने सहायक कोरियोग्राफर सुरेन बस्नेत र रोशन विश्वकर्मा रहेका छन्।

सर्वजनिक गरिएको पोस्टरमा देखिए अनुसार यसमा कुनै मेला वा महोत्सवको झल्को देखिएको छ । एउटै ड्रेस चोली र फरियामा मान्छे देखिन सकिन्छ  जसले निकै ठूलो तामझामको संकेत दिहिरहेको छ । प्राय सबै कलाकार सिरियलबाट आएको र नृत्यमा खासै आकर्षक नभएका कलाकार भएका कारण  यो तामझाम र कोरस नाच्न धेरै डान्सर प्रयोग गरिएको अनुमान गर्न सकिन्छ । 

निर्देशक तथा चर्चित कोरियोग्राफर विस्टको नृत्य निर्देशनमा निर्माण गरिएको उक्त भिडियोले छक्का पन्जाको ‘ब्रेकअप सङ’ झै माया पाउँछ कि पाउँदैन त्यो भने आज थाहा हुन्छ । संगीतमा रङ्ग भर्ने र अकाल्पनिक दृश्यका साथ फरक शैलीमा म्युजिक भिडियो निर्माण गर्ने उनको यस भिडियोले थप क्षमता मापन गर्नेछ ।

यो मुभी सङ लाज शरणम् का लागि पनि उतिकै महत्त्वपूर्ण र निर्णायक हुनेछ । पछिल्लो समय रिलिज भएका र धेरै कमाएका फिल्म ‘१२ गाउँ’ , ‘पुर्ण बहादुरको सारङी’ , ‘छक्का-पन्जा ५’ र ‘ज्वाईं साब’को गीत पनि निकै रुचाइएकामा परेका थिए जसले फिल्मलाई अझै उचाइमा पुर्याएको थियो ।

गत साल फागुन २ गते चलचित्रको नाम घोषणा र २०८१ नयाँ साललाई लक्षित गर्दै उक्त फिल्मको सुटिङ सुरु भएको  थियो । विशेष सूचनाका अनुसार यस म्युजिक भिडियोको केही दिन अघि मात्र शुटिङ गरिएको र हतार हतारमा आज नै रिलिज गर्न लागिएको छ ।  फिल्मको यो गीत रिलिज अरू फिल्मका आधारमा निकै ढिला रिलिज हुन लागेको हो र अन्य फिल्म झै २-४ दिन दर्शकलाई सोच्ने समय नदिइ रिलिज  घोषणा गरिएको हो ।

 हेर्दा हेर्दैमा ‘प्रमोशनल सङ’ ओएसआर डिजिटल युट्युब च्यानल मार्फत आज दिउँसो २:३० बजे रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update