Harsamaya
 नेकपा एसले गर्यो संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन, को को परे ?

काठमाडौं - नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । 

सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राइसमेत रहेका छन् ।

त्यस्तै बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिन्हका साथ उम्मेदवारहरु एक्लै चुनाव लड्ने निष्कर्ष समेत निकालेको छ । यसका लागि जनतामा जाने खतिवडाले बताए ।  बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले जानकारी दिए । 

 बैठकले पार्टीलाई जनतासँग जोड्नको लागि जनसंर्षका अभियानहरु चलाउने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताए । 

बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ भने  पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ । कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरुलाई अध्ययन गरि दुई दिनपछि टुंग्याउने खतिवडाले बताए । खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको बताए । यसका लागि अन्य प्रक्रियाका कामहरू जारी रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update