Harsamaya
भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन, दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति निधन भयो।

नयाँदिल्ली - भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए । प्रधानमन्त्री पद त्यागेपछि उनी सक्रिय राजनीतिबाट टाढिएर बसेका थिए । प्रधानमन्त्री पद छाडेपछि मनमोहन सिंह आफ्नी श्रीमतीसँग बस्दै आएका छन् । सिंह र उनकी पत्नी श्रीमती गुरशरण कौरका तीन छोरीहरू छन् ।

पूर्वप्रधानमन्त्री सिंह निकै सादा जीवन बिताउन मन पराउने र कम बोल्ने गर्थे । आफ्नो सम्पत्तिको कुरा गर्दा उनीसँग कूल २५ करोड २३ लाख रुपैयाँको सम्पत्ति छ । राज्यसभामा दिएको शपथ पत्र अनुसार उनको दिल्ली र चण्डीगढमा पनि फ्ल्याट रहेको छ । शपथपत्रका अनुसार मनमोहन सिंहसँग कुनै ऋण थिएन ।

सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा गाउँमा भएको थियो । उनले सन् १९४८ मा पञ्जाब विश्वविद्यालयबाट म्याट्रिक पूरा गरे । त्यसपछि उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट थप शिक्षा हासिल गरेका थिए ।

सन १९५७ मा उनले अर्थशास्त्रमा प्रथम श्रेणी सम्मान डिग्री हासिल गरेका थिए । त्यसपछि सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजबाट अर्थशास्त्रमा डिफिल गरेका हुन् ।

मनमोहन सिंह सन् १९७१ मा वाणिज्य मन्त्रालयमा आर्थिक सल्लाहकारका रूपमा सामेल भएका थिए । सन् १९७२ मा उनी अर्थ मन्त्रालयमा मुख्य आर्थिक सल्लाहकारमा नियुक्त भए । 

सिंह अर्थ मन्त्रालयको सचिव, योजना आयोगको उपाध्यक्ष, भारतीय रिजर्व बैंकका अध्यक्ष, प्रधानमन्त्रीका सल्लाहकार, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ । मनमोहन सिंह सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री थिए । यो समय देशको आर्थिक संरचनाका लागि निकै महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update