Harsamaya
जापानी प्रधानमन्त्री शिगेरु इसिबाले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने
जापानका प्रधानमन्त्री शिगेरु इसिबा।

काठमाडौँ - जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताएका छन् ।

“यदि परिस्थितिले अनुमति दिए उनि फेब्रुअरी ६–८ (बिहीबारदेखि शनिबार) मा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुनेछ र वासिङ्गटन डिसीमा राष्ट्रपति ट्रम्पसँग पहिलो पटक जापान–अमेरिका शिखर बैठक गर्नुहुनेछ”, हायाशीले भने, “यस भ्रमणमार्फत हामी नयाँ अमेरिकी प्रशासनसँग विश्वासको बलियो सम्बन्ध निर्माण गर्न र अमेरिका–जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ ।”

निक्केई व्यापार दैनिकले इसिबाले ट्रम्पसँग अमेरिकी शेल ग्यासको आयात बढाउने विषयमा छलफल गर्न चाहेको जनाएको छ । यो राष्ट्रपतिको ‘ड्रिल, बेबी, ड्रिल’ को प्रतिज्ञासँग मेल खान्छ ।

इसिबाले नोभेम्बरमा तत्कालीन राष्ट्रपति–निर्वाचित ट्रम्पसँग छोटो टेलिफोन वार्ता गर्नुभएको थियो र जनवरीमा उहाँको शपथग्रहण अघि नै भेट्ने असफल प्रयास गरेका बताइएको थियो ।

यद्यपि ट्रम्पले डिसेम्बरमा जापानमा हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेकी विधवा आकिए आबेलाई फ्लोरिडास्थित आफ्नो निवासमा मेलानिया ट्रम्पसँग निजी डिनरको आयोजना गरेका थिए ।

गत हप्ता इसिबाले क्षेत्रीय स्थिरताका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सम्बन्धको महत्त्वलाई जोड दिएका थिए ।

“यस क्षेत्रमा शक्तिको सन्तुलनमा ऐतिहासिक परिवर्तन आएको छ, हामीले जापान–अमेरिका सहयोगलाई ठोस रूपमा अझ गहिरो बनाउनुपर्छ”, इसिबाले संसद्लाई भने, “शक्ति रिक्तताले क्षेत्रीय अस्थिरतातर्फ नडोर्‍याओस् भन्नका लागि यस क्षेत्रप्रति अमेरिकी प्रतिबद्धता सुनिश्चित गर्न जारी राख्नुपर्छ ।”

उनको टिप्पणीले एसिया–प्यासिफिकमा चीनको सैन्य निर्माण र ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिहरूमा तनावलाई जोड दिन्छ, जसमा जापान जस्ता सहयोगी राष्ट्रहरूलाई रक्षा खर्चको ठूलो हिस्सा बेहोर्न लगाउने माग पर्न सक्छ ।

जापान र संयुक्त राज्य अमेरिका प्रमुख रक्षा सहयोगी र एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् ।

डिसेम्बरमा पनि इसिबा अघि जापानी प्रविधि लगानीकर्ता सफ्टब्यांकका प्रमुख मासायोशी सन ट्रम्पका साथमा संयुक्त राज्य अमेरिकामा एक खर्ब डलरको लगानी घोषणा गर्न उभिएका थिए ।

सनले ट्रम्पको शपथग्रहणमा पनि भाग लिएका थिए । त्यसपछि सफ्टब्यांकले क्लाउड दिग्गज ओराकल र च्याटजिपिटी–निर्माता ओपनएआईसँग मिलेर संयुक्त राज्य अमेरिकामा एआई पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको स्टारगेट परियोजनाको नेतृत्व गर्ने घोषणा गरे ।

त्यसपछि सोमबार साँझ सन र ओपनएआई प्रमुख साम अल्टम्यानले इसिबालाई भेटे र ‘स्टारगेटलाई जापानमा विस्तार गर्ने’ बारेमा छलफल गरेको सनले पछि पत्रकारहरूलाई बताए ।

“हामी अत्याधुनिक एआई पूर्वाधार निर्माण गर्न चाहन्छौँ, मेरो मतलब विश्वकै सबैभन्दा ठूलो, अत्याधुनिक एआई डाटा केन्द्रहरू हो”, सोनले थप विवरण नदिई भने ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update