Harsamaya
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानको उद्घाटनपछि सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा । तस्वीर : मणिराज गौतम/रासस

मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए । 

आज मकवानपुरको हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट सुरु एचपिभी खोप अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नेपालमा बर्सेनि हजारौँ महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेको बताए । 

नेपालमा दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्युवरण गर्नुपरेको बताउँदै उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा एचपिभी खोप अभियान सुरु गरिएको उनको भनाइ थियो । 

मुख्यमन्त्री लामाका अनुसार पछिल्लो समय क्यान्सर प्राणघातक रोगसँगै आर्थिक रूपले पनि जटिल बनिरहेको छ । क्यान्सरको उपचारमा भन्दा सहायक रोगको व्यवस्थापनमा बढी खर्च हुने गरेको उनले बताए । 

कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपालमा नसर्ने रोगबाट मृत्यु हुने दर बढ्दो रहेको बताए । उनले ७० प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु भइरहेको बताउँदै नसर्ने रोगको क्षति रोक्नुपर्ने चुनौती रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update