Harsamaya
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन 
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तक विमोचन गर्दै सभामुख देवराज घिमिरे ।

काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तकको भव्य विमोचन भएको छ। ताप्लेजुङस्थित भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले पुस्तक विमोचन गरेका हुन् । 

६६६ पृष्ठ लामो यस स्मारिकामा १२६ लेखकका शिक्षामूलक, ऐतिहासिक र रोचक संस्मरणहरू समेटिएको छ। समीक्षक प्रा.डा. रमेश भट्टराईका अनुसार काजी श्रेष्ठ, तुलाराम गुरुङ, नन्दकुमार प्रसाईं र देवराज घिमिरेका लेखहरू विशेष रूपमा राजनीतिक, वैचारिक र चेतनामूलक दृष्टिकोणले भरिपूर्ण छन्।

भानुका पूर्व विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा तीन हप्ताभित्र १६ लाखभन्दा बढी आजीवन सदस्यता तथा सहयोग रकम संकलन भएको जानकारी गराइयो। आयोजक समितिका अनुसार यो रकम ताप्लेजुङका विपन्न विद्यार्थीहरूका लागि अक्षयकोष स्थापनामा प्रयोग गरिनेछ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं भानुका पूर्व प्रधानाध्यापक नन्दकुमार प्रसाईं, पूर्व प्रधानाध्यापकहरू तुलाराम गुरुङ, विमला सेनेहाङ, पूर्वमन्त्री डा. भरत प्रधान, साहित्यकार तथा समीक्षक प्रा.डा. रमेश भट्टराई लगायत प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमको सभापतित्व भानु एल्मुनाई समाजका अध्यक्ष ई. मेघेन्द्र कुमार श्रेष्ठ ले गरेका थिए भने समाजका सचिव एवं पुस्तकका प्रमुख सम्पादक टंक श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update