
सिन्धुपाल्चोक - नेकपा माओवादी केन्द्र जुगल गाउँपालिकाले आफ्नो तेस्रो सम्मेलन सम्पन्न गरेको छ। सोमबार जुगलको ढाडे बजारमा आमसभा गर्दै सम्मेलन सम्पन्न गरेको जुगल माओवादी ले जनाएको हो।
सम्मेलनमा शुभकामना मन्तव्य राख्दै प्रतिनिधि सभा सदस्य एवम् केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले माओवादीको नेतृत्वमा सिंगो जुगललाई हराभरा बनाउन बहुमत आवश्यक बताउँदै एक्लै चुनाव लडेर, बहुमत वडासहित पालिका अध्यक्ष, उपाध्यक्ष जित्ने संकल्प गर्न आब्हान गरे ।
माओवादीलाई जुगलमा २०८४ को चुनावमा दिग्बीजयको झण्डा गाड्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।
माओवादीले १२ बर्ष अघि नै हात हातमा मोबाइल, घर घरमा इन्टरनेटको नारा ल्याएको स्मरण गर्दै उनले त्यसकै नतिजाका रुपमा आज हात हातमा मोबाइल सम्भव भएको उल्लेख गरे ।
प्रचण्ड नेतृत्वको सुशासन समृद्धि र समाजवादको नारा लिएर भ्रष्टाचारीलाई जेल हाल्न सुरु गरेको जानकारी दिँदै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्ने, बालुवाटारको ललितानिवास जग्गा घोटाला, गिरीबन्धु टि स्टेटजस्ता भ्रष्टाचारमा संलग्नहरुलाई जेल हाल्न थालेपछि जनताले माओवादीलाई बुझ्न थालेको सापकोटाले स्पष्ट गरे ।
हिजो माओवादीले बाँडेका सपनालाई उडाउने गरिएकोमा हाल आएका नतिजाले माओवादीको योजनावद्ध विकास र परिवर्तनलाई बुझ्न थालेको बताए । प्रधानमन्त्री केपी ओली तामझामसहित विविध कार्यक्रममा जाँदा विरोध हुने गरेको तर सामान्य तरिकाले देशभर जाँदा माओवादी अध्यक्ष प्रचण्डको पक्षमा जनलहर पैदा भएको उनको भनाई थियो ।
माघ २४ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जानकारी दिँदै उनले प्रचण्डको सम्बोधले देशलाई राजनीतिक लाईन दिने बताए । ‘प्रचण्डको सम्बोधनले संसद र सडक तताउने काम गर्छ, संसदले सडक, सडकले संसदलाई सहजिकरण गर्छ’ सापकोटाले भने ।
सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रको बागमती प्रदेश सभा सदस्य एवं वागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले संसदमा आफूहरुले प्रदेश सभा र संघीय संसदमा बोलको आवाज जुगल लगायतका स्थानीय जनताको आवाज भएको बताए ।
प्रदेश र संघीय संसदमा आफूहरुलाई मतदान गरि विजय गराएकोमा धन्यवाद दिँदै उनले जनअपेक्षा अनुसार काम गर्ने उनको प्रतिबद्धता थियो । उनले माओवादी त्याग, तपस्या र बलीदानको गौरवपूर्ण इतिहासले जन्मिएको पार्टी भएको उल्लेख गर्दै पार्टीप्रति गर्व गर्न आव्हान गरे । पार्टी र नेतृत्वप्रति गौरव गर्न लायक काम गरेर अघि बढ्न माओवादी पंक्ति तयार रहनु पर्ने उनको भनाई थियो । उनले अबको नेतृत्वले माओवादी केन्द्रको साख जोगाउँदै सातै वडामा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एकल जित्नेगरी नयाँ नेतृत्व चयन सक्ने गरि काम गर्नु पर्नेमा उनले जोड दिए ।
माओवादी खबरदारीको आव्हान गर्ने पार्टी भएको उल्लेख गर्दै माओवादीले आम जनसमुदायलाई जागृत गराएको स्मरण गराउँदै उनले जनसमुदायको समस्यासँग काम गर्न सक्ने टिमको जरुरत भएकोमा जोड दिए । जुगल हिमाल आरोहण, मन्जुश्रीपार्क, तेम्बाथानसम्मको सडकको परिकल्पना माओवादीले गरेको सांसद सरलले स्पष्ट गरे । अहिले स्थानीय सरकारहरुमा गैर माओवादीहरुले बागको छालामा स्यालको रजाईं जस्तो गरेको उनले बताए ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले माओवादीले आशा जगाएको उल्लेख गर्दै पार्टीको योगदानको चर्चा गरिन् । उनले माओवादीक कारण जाति, वर्ग, क्षेत्र र लैङ्गिक विभेद भोगिरहेका जनताले अधिकार पाएको स्मरण गरिन् । हामीले केही गर्नुपर्छ भन्ने भावना समाजमा माओवादीले मात्रै दिन सक्ने उनको तर्क छ । माओवादीले सरकारको नेतृत्व गर्दा परेको सकारात्मक प्रभावले जनताको मन तानेको उनको भनाई छ । वर्तमान सरकारको गलत क्रियाकलापका विरुद्ध खबरदारी गरिएको नेतृ प्रभावले बताइन् ।
त्यस्तै पार्टी वागमती प्रदेश सदस्य एवं जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्वोले आफुले पार्टीको नीति अनुसार काम गरेको उल्लेख गरे । गाउँ सरकार प्रमुखका रुपमा आफूले बाँसखर्कको स्तुपा, मानेडाँडामा मिनिरंगशाला निर्माण, सिदुर्चेमा संस्कृतिको झल्को दिनेगरि २५ यस मिटरमा १२५ फिट जुगल भ्यु प्वाइन्ट, सञ्चगाउँमा गुम्बा, लिदी पहिरो पीडितको सम्झनामा ३९ फिटको छुर्तेन, ३ नं वडा जुगल हिमशृंखलाको आरोहण खुला गर्न सहजिकरण गरेको बताए ।
उनले नेपेमाछाल क्षेत्रमा पुजाआजा गरेर संस्कतिक क्षेत्रको रुपमा बढाएको, तेम्बाथानमा बिजुलीको स्थापनासहित गाउँपालिकाकै व्यवस्थापनमा कक्षा ८ सम्मको पढाई सुरु गरेको, गुम्बामा ८० लाखको लागतमा स्वाथ्य चोकी, बोल्देमा बसपार्क र धारा निर्माण, पाकुमा केदारेश्वर मन्दिर निर्माण, घुगामा दोमन पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, हाप्रामा नेवारी संस्कृतिको कुलघर निर्माण, मञ्जुश्री पार्क, याङलाकोटमा गुम्बा निर्माण कार्य गरिएको उनले बताए।
पार्टीका जुगल अध्यक्ष इश्वर गुभाजुको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो। सम्मेलन कै अवसरमा एमाले कांग्रेस परित्याग गरी २ सय ५० बढी नेताकार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए।
तुलानाथ घिमिरेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति :-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुगल गाउँपालिकाको तेश्रो सम्मेलनबाट ४१ सदस्यीय कार्यसमिति चयन गरेको छ । सम्मेलनबाट सर्वसहमतिमा कार्यसमिति चयन गरिएको हो ।
समितिको अध्यक्षमा तुलानाथ घिमिरे, उपाध्यक्षत्रयमा जग बहादुर तामाङ, ईन्द्र सिलवाल र क्रान्ति लामा योन्जन चयन भएका छन् । सचिवमा फुलकाजी स्याङ्बो,
सह-सचिवमा मिन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण बहादुर तामाङ, अनुशासन समिति प्रमुखमा मोहन श्रेष्ठ, लेखा समिति प्रमुख चिनलाल श्रेष्ठ र निर्वाचन समिति प्रमुख दिप बहादुर थापा चयन भएका छन् ।