काठमाडौं - देशभरका विभिन्न स्थानमा अवैध लागूऔषध कारोबार र ओसारपसारमा संलग्न ११ जना पक्राउ परेका छन्। बारा, निजगढ नगरपालिका-४ बकैया खोलाको बाँधमा अवैध लागूऔषध गाँजा ६ किलो ७६० ग्रामसहित दुईजना पक्राउ परेका हुन्। मोटरसाइकलमा सवार रामप्रवेश महतो र राजेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यस्तै, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट १५ किलो गाँजासहित भारतका दुईजना पक्राउ परेका छन्। गाडीमा फल्स बटम बनाई लुकाइएको गाँजासहित अखिलेख कुमार साह र राजकुमार पासवानलाई पक्राउ गरिएको हो।
मोरङको रंगेलीमा खैरो हेरोइन र नियन्त्रित औषधि बिक्रीमा संलग्न तीनजना पक्राउ परेका छन्। भित्री सडकमा खैरो हेरोइनसहित धिरज कुमार झा पक्राउ परेका छन् भने रंगेलीकै इसान्त फार्मेसीबाट हजारौंको संख्यामा ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित फार्मेसी सञ्चालक संजय मण्डल पक्राउ परेका छन्।
यसैगरी, कैलालीको घोडाघोडी नगरपालिका र सुनसरीको बराहक्षेत्रमा खैरो हेरोइन र नियन्त्रित औषधिसहित स्थानीय व्यक्तिहरू पक्राउ परेका छन्। झापाको मेचीनगरमा खैरो हेरोइन ओसारपसारमा संलग्न प्रजित तामाङलाई नियन्त्रणमा लिइएको छ भने सप्तरीको बोदेबर्साईनमा बुप्रेनोर्फिन, फेनारगन, र डाइजेपामसहित दुईजना पक्राउ परेका छन्।
प्रहरीले अवैध लागूऔषध कारोबार र वितरणविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।