Harsamaya
सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स भित्रियो
सांकेतिक तस्वीर: हर समय/Har Samaya
काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । 
 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो । 
 
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव एक प्रतिशतले वृद्धि भइ पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।
 
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।
 
केन्द्रीय बैंकका अनुसार, सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार  छ सय २८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः दुई लाख  हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० रहेको थियो । 
 
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update