
काठमाडौं - पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म साँखुको शालिनदीमा श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । माघस्नान गर्ने क्रममा शालिनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छा गरेको फल प्राप्त हुने जनविश्वास छ ।
शालिनदीको जल अर्चन गरेमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने किंवदन्ती छ । परापूर्वकालमा यहीँ व्रत उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर शरीर प्राप्त गरेकी थिइन् ।
माघ महिनामा शालिनदी क्षेत्र साँखु शहर नयाँ दुलहीझैं झपक्क सिँगारिएको छ । एक महिनासम्म लाग्ने मेलाले स्थानीयहरूको व्यापार व्यवसाय फस्टाएको छ । दैनिक शालिनदी नुहाउन आउनेहरूको भिडले स्थानीय उत्पादन, होटल व्यवसाय लगायतको व्यापार राम्रो भएको छ ।