Harsamaya
खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोक जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ । 

जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग रु २८ करोड ६५ लाख ३१ हजार छ सय ४८ सहयोग माग गर्ने निर्णय गरेको हो । 

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जू, बनेपाका शान्तिरत्न शाक्य र पनौतीका रामशरण भण्डारीबीच भएको बैठकले सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजनामा भएको क्षतिको मर्मतका लागि भएको मूल्याङ्कनअनुसार सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयमा बजेट व्यवस्थापन र कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

केही दिनमा सरकारसँग बजेट माग गर्ने प्रक्रिया अघि बढाइने आयोजनाको बोर्डका संयोजकसमेत रहेका नगरप्रमुख ब्याञ्जूले बताए । उनका अनुसार आयोजनाको पनौतीमा रहेका गुड्गुडे, खारखोला, बैरा–महादेव र मूलडोलको पानी सङ्कलन गर्न बनाइएको इन्टेक र वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पुर्‍याएको थियो । 

र्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले क्षतिग्रस्त भएपछि पुनःनिर्माणका लागि एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । 

सङ्घीय सरकार र एसियाली विकास बैङ्क (एडिबी)बीच सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ मा निर्माण सक्नेगरी ऋण सम्झौता गरिएको  उक्त आयोजना समय सकिएको १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजारले खानेपानी सुविधा पाउनेछन् । 

यसैबीच, धुलिखेल नगरमा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update