Harsamaya
पार्टीगत ट्रेड युनियन राख्न उचित नहुने  काँग्रेसको सुझाव
राज्य व्यवस्था तथा सुशासन समिति बैठक
काठमाडौं - नेपाली काँग्रेसले निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन राख्न उचित नहुने सुझाव दिएको छ । 
 
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलका क्रममा काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ट्रेड युनियनलाई पार्टीगत रुपमा राख्न नहुने सुझाव दिएका हुन् । उनले नेपालको कानुनले सरकारी कर्मचारीले कुनै पनि पार्टीको संस्थागत सदस्य लिन नहुने उल्लेख गरेकोमा ट्रेड युनियनलाई पार्टीगत रुपमा राख्न नहुने पार्टीको धारणा रहेको बताए । 
 
एउटा मात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने र अधिकृत तह भन्दा माथिका कर्मचारीलाई संलग्न गराउन नहुने उनले बताए । त्यस्तै घिमिरेले संवैधानिक आयोग पूर्व कर्मचारीको क्लब जस्तो देखिएकाले आयोगमा ५० प्रतिशतभन्दा बढी पूर्व कर्मचारी हुन नहुने प्रावधान राख्नुपर्ने सुझाव दिए । 
 
बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले निजामती क्षेत्रमा विभिन्न दलका फरक फरक ट्रेड युनियन भन्दा पनि एउटै ट्रेड युनियन राख्नुपर्ने बताए । एउटै ट्रेड युनियनमा पनि अधिकृत भन्दा माथिका कर्मचारीलाई राख्न नहुने विषयमा छलफल चलाउनुपर्ने उनले बताए । 
 
बैठकमा प्रमुख दलका मुख्य सचेतकहरूले विधेयकहरूलाई समयमा नै अघि बढाउन पार्टीगत रूपमा नै प्रतिबद्ध रहेको धारणा राखेका थिए । उनीहरूले विधेयक धेरै समय समितिमा रहदा समयमा नै कानुन नबन्ने समस्या रहेकाले सबै गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । 
 
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update