Harsamaya
प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी र प्रतिनिधि सभाका पूर्व सदस्य प्रेमलाल (पीएल) सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै सहभागी सांसदहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ - प्रतिनिधिसभा आजको बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पिएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली  अर्पण गरेको छ ।

पूर्वसभामुख ढुङ्गानाको गत मङ्सिर २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, संविधानसभा सदस्य सिद्धिकीको गत मङ्सिर ३ गते ६० वर्षको उमेरमा र पूर्वसांसद पिएल सिंहको गत पुस १ गते ८८ वर्षको उमेरमा निधन भएको थियो । यस्तै, संविधानसभा सदस्यसमेत रहनुभएका शर्माको यही माघ ७ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।

सभाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

सभाले तीन जना सांसदको संसदीय समितिमा जिम्मेवारी थप तथा हेरफेर गरेको छ । सांसद रञ्जिता श्रेष्ठलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा जिम्मेवारी तोकिएको छ ।

सांसद कल्पना चौधरीलाई पूर्वाधार विकास समितिबाट अर्थ समिति र सांसद दुर्लभ थापालाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट अर्थ समितिमा जिम्मेवारी तोकिएको छ । प्रतिनिधिसभाकाे अर्को बैठक यही माघ २४ गते १ बजे बस्नेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update