
नेपाली काँग्रेसमा जबरजस्त उदाएका नेतामा पर्छन् वरिष्ठ नेता डा शेखर कोइराला । उनलाई लामो समयसम्म ‘जुनियर’ को ट्याग लाग्यो । राजनीतिक विरासत भएपनि त्यसको लाभ उनले पाएनन् । उनले आफ्नै खुट्टा खियाए, कैयौँ जोर जुत्ता फटाए । दुरदराजमा रहेका कार्यकर्तासँग सुखदुख साटे। निमुखा जनताका सारथि भए । उनीहरूका घर-घर पुगे । उनीहरूका दुखमा साथै भए र उनीहरूको भरपुर साथ पनि पाए ।
हिउँदको चिसो र वर्षाको खहरेले दुरदराजका कार्यकर्ता भेट्न उनलाई रोकेन । उनी अनवरत आफ्नो कर्ममा लागिरहे । ‘कर्म गर फलको आशा नगर’ भने झै लामो समयको कर्मपछि उनलाई पार्टीका सच्चा कार्यकर्ताहरूबाट पार्टी नेतृत्व लिनुपर्छ भन्ने आवाज बुलन्द हुँदै गयो । उनले नेतृत्वमा दाबी गरे ।
लोभी पापीको झुण्ड भएको काँग्रेसमा केन्द्रीय सभापतिको टिकट पाउन सजिलो थिएन । उनलाई गलाउन अनेक जुक्तिहरू लगाए । उनका कमी कमजोरी खोज्न सिंगो नेतृत्व नै लाग्यो । तर, उनको कर्मले जित्यो । उनले १४औं महाधिवेशनमा सभापतिको उमेदवार त बने तर सभापतिमा जित्न सकेनन् । न उनले परिवाको साथ पाए न सिनियर नेताहरूको नै । शक्तिको पछाडि लाग्ने झुण्डहरू शक्तिकै पछि लागे तर उनी डगमगाएनन् । पराजित भएपनि उनले आम सच्चा कांग्रेसीको ठूलो विश्वास पाए । पार्टी सत्ता र देशको सत्ताकाविरुद्ध एक्लै उभिएका शेखरले करिब ४१ प्रतिशत मत पाए ।
पराजित भएपछि शेखर थाकेर बस्छन् भन्ने धेरैको आकलन थियो । तर, उनले आफ्नो कर्मलाई छाडेनन् । निरन्तर जनताका घरघर पुगे । मरिसकेका सपनाहरूमा आशा जगाए । कार्यकर्ताका विश्वास र सपनाहरूलाई जिउँदो राख्न हर सम्भव कोसिस गरे ।
स्वदेशमा मात्रै होइन विदेशमा रहेका नेपालीहरूको देशप्रति खिया लागिसकेका विचारमा उनले धार लगाए । नेपालमा नेता नै राम्रा छैनन् भन्ने विदेशमा रहेका आम नेपालीहरूको विचारलाई उनले गलत साबित गरे । केही हप्ता अघि बेलायत भ्रमणका क्रममा उनले गरेको उच्चस्तरीय भेटले यो पुष्टि गर्दछ । उनले आफ्नो पार्टी र कार्यकर्ताको मात्रै होइन सिंगो नेपालीको शिर उच्च बनाउने काम गरे । नेताले विदेशमा गएपछि त्यहाँ रहेका नेपालीहरूलाई दुख दिन्छन् भन्ने भाष्यलाई उनले मेटाइ दिए । नेपालमा यति सादगी नेता पनि छन् भन्ने उनले देखाइ दिए ।
कोइरालाको देशको एउटा सांसदको हैसियतमा भएको बेलायत भ्रमणले उनलाई मुलुकको शक्तिशाली नेताका रूपमा स्थापित गरेको छ। बेलायतमा रहँदा कोइरालाले त्यहाँस्थित जनसम्पर्क समितिका पदाधिकारीहरू, बेलायतस्थित नेपालीहरू, उच्च पदस्थ कर्मचारीहरू र कूटनीतिक नियोगका कर्मचारीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका थिए।
बेलायतमा को-को भेटे शेखरले ?
बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजित ‘नेपाल-बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई डा कोइरालाले सम्बोधन गरेका थिए । कोइरालाले भुपु गोर्खा सैनिकका समस्या, जलवायु परिवर्तन र त्यसले नेपालमा गरेको असर, नेपाल बेलायतको सम्बन्ध जस्ता विषयमा धारणा राखेका थिए ।
आजसम्म कुनैपनि नेपाली नेताले बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा गएर कार्यक्रममा सहभागीता जनाएको रेकर्ड भेटिँदैन। यस मानेमा यहाँ सम्बोधन गर्न पाउने डा शेखर नै पहिलो नेता नै भन्दा अन्यथा नहोला ।
सो कार्यक्रममा बेलायतका उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमस र बेलायतकी एशिया मामिला हेर्ने उप-विदेशमन्त्री क्याथराईन वेष्ट लगायतले सम्बोधन गरेको थिए ।
बेलायतको दक्षिण एसिया मामिला हेर्ने उप-विदेशमन्त्री क्याथरिन वेस्टले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन प्रयास थाल्ने सो कार्यक्रममा बताएकी थिइन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष नाघे पनि अहिलेसम्म कुनै पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमण गरेका छैनन् ।
उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नु परिरहेको चुनौतीबारे बेलायत जानकार रहेको बताउँदै नेपालका महत्त्वपूर्ण सम्पदा सुरक्षित गर्न अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा नेपाललाई मद्दत गरिरहेको बताइन् । वेस्टले स्वच्छ हावा र सफा पानी पिउन पाउनु सबै जनताको अधिकार हो भन्दै वातावरण संरक्षणमा दुवै मुलुक प्रतिबद्ध रहेको पनि बताइन् ।
वाणिज्य मन्त्री ग्यारेथ थोमसले दुई देशबीचको ऐतिहासिक सम्बन्ध सुदृढ गर्न गोर्खा सैनिकहरूको योगदानको प्रशंसा गरे । उनले बेलायतमा बसिरहेका नेपालीहरूले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, केयरलगायत विभिन्न क्षेत्रमा योगदान गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाल र बेलायतबीच सिधा उठान सम्पर्क कायम गर्न सक्दो पहल गर्ने आश्वासन दिए ।
कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग लण्डनस्थित नेपाली दूतावासमा भेटघाट गरे । उनीसँगको भेटमा उनले नेपालले भोगिरहेको विभिन्न समस्याहरूबारे कुरा राखे । भेटमा उनले भूपू गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान हुनुपर्ने, ब्रिटिस एअरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान हुनुपर्ने, जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको, हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेका र जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने विषय उठान गरे ।
कोइरालासँगको भेटपछि अध्यक्ष बेकरले बेलायतको संसदमा नेपालले जलवायु परिवर्तनबाट भोगेका समस्याहरूबारे आफ्नो धारणा राखेकी थिइन् ।
बेलायत भ्रमणका क्रममा कांग्रेस नेता कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरे । भेटमा कोइराला र क्लेभर्लीकबीच नेपाल-बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भयो । कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।
त्यसैगरी कोइरालाले बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटघाट गरे । भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भयो ।
त्यस्तै कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग भेटघाट गरे । भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको थियो । कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गरे ।
यस्तै कोइरालाले बेलायतकी संसद रुपा हक, हाउस अफ लर्ड मन्जिला उद्दिन लगायतका नेताहरूसँग पनि भेटघाट गरेका थिए ।
कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भुमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग पनि लण्डनमा भेटे। इयान मार्टिन नेपालको शान्ति प्रकियालाई नजिकबाट नियाल्ने व्यक्ति हुन् । उनले छिट्टै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन शेखरलाई सुझाए ।
डा शेखर बेलायत भ्रमणका क्रममा नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी भए । सो कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष डा सम्पुर्णानन्द ढुङ्गाना, महासमिति सदस्य बिश्वआदर्श पण्डित, नेपाली कांग्रेस केन्द्रीय आर्थिक तथा योजना विभाग सदस्य आरके त्रिपाठी, जनसम्पर्क समिति बेलायतका पूर्व महामन्त्री केशव भण्डारी, जनसम्पर्क समिति बेलायतका क्षेत्रीय सभापति राजन खरेल, पूर्व सभापति भोजप्रसाद गुरुङ, एनआरएन केन्द्रीय सचिव दयानिधी सापकोटा, बेल्जियमकी अध्यक्ष सीता सापकोटा, रोयल ग्रिनवीच काउन्सिलका मेयर जित रानाभाट, एनआरएन पोर्चुगलका पूर्व अध्यक्ष कुबेर राना, प्रेस युनियन युरोपका अध्यक्ष संजय कँडेल, प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, शंकर तिवारी, जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज सिंह लगायत सहभागी थिए । उनीहरूले पार्टीको आउँदो महाधिवेशनमा सभापति बनेर पार्टी र देशलाई सही दिशा दिन सुझाव दिए ।
कोइरालाले नेपलिज डक्टर्स एसोसिएसन बेलायतले नर्वीचमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई पनि सम्बोधन गरे । सो कार्यक्रमको संयोजन नेपलिज डक्टर्स एसोसिएसन बेलायतका पूर्व अध्यक्ष डा कमलराज अर्यालले गरेका थिए ।
शेखरको सम्मानमा नेपाली राजदूतावास बेलायतले लण्डनमा नेपाली डायस्पोरासँग भेटघाट कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडी पनि सहभागी थिए ।
यस्तै नागरिक समाज बेलायतले डा शेखर कोइरालालाई सम्मान गरेको थियो । होटल गोल्डेन सीपमा भएको सम्मान कार्यक्रममा समाजका अध्यक्ष शेरबहादुर सुनार लगायत गैरआवासीय नेपाली महासंघका पूर्व अध्यक्ष कुल आचार्य लगायतको सहभागिता थियो।
यस्तै कोइराला सोसाइटी अफ नेपलिज प्रोफेशनल्स युकेले आयोजना गरेको "डायस्पोरा नेपाली समुदाय र नेपाली नागरिकता" विषयक कार्यक्रममा सहभागी भए ।
भ्रमणकाे सन्देश
छोटो समय लिएर बेलायत भ्रमणमा गएका कोइरालाले नेपालको हितका लागि विभिन्न महत्वपूर्ण भेटघाट गरेर समय खर्चिए । स्वदेशमा देखाएको क्रियाशीलतालाई उनले बेलायत भ्रमणका क्रममा पनि जारी राखे । उनले गरेका द्विपक्षीय भेटघाटले नेपालमा पनि लोकतान्त्रिक धारका शक्तिशाली नेता रहेछन् भन्ने सन्देश विश्व मञ्चमा दिए । नेपालमा देखाएको कुशल राजनीतिलाई कुटनीतिक मञ्चमा पनि देखाए ।
आफ्नो स्वार्थका लागि एउटा भैंसी पनि सहयोग माग्ने राजनीतिक नेताहरू भएको देशमा उनको सादगीपनले नेपालीलाई मात्रै होइन विदेशीलाई पनि लोभ्यायो । आगामी पार्टी सभापति र प्रधानमन्त्रीको दाबेदारको रूपमा देखिएका उनको भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्धमा कोसेढुंगा सावित भएको छ । उनको यो भ्रमणले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति बन्न सहयोग पुग्ने राजनीतिक वृत्तमा चर्चा छ ।
हेर्नुहोस् बेलायत भ्रमणका क्रममा लिइएका तस्वीरहरू :-
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकर लण्डनस्थित नेपाली दूतावासमा भेटघाट गर्दै ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनबीचको भेटघाट।
डा शेखर कोइराला र तत्कालीन अनमिनका नेपाल प्रमुख ईयान मार्टिनबीच भएको भेटघाट।
इयान मार्टिन, बेलायती सांसद रुपा हक, बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्ली, काँग्रेस नेता डा. शेखर कोइराला र उनका स्वकीय सचिव दिनेशचन्द्र थपलिया ।
बेलायतकी एशिया मामिला हेर्ने उपविदेशमन्त्री क्याथराईन वेष्ट र डा. शेखर कोइराला ।
डा. शेखरसँग सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकर र कार्यबाहक राजदुत बिपिन दुवाडी ।
बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजित "नेपाल-बेलायत सम्बन्ध" बिषयक कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, ग्यारेथ थोमस, उपविदेशमन्त्री क्याथराईन वेष्ट र प्राध्यापक सुर्य सुवेदी लगायत ।
डा शेखर कोइरालाको सम्मानमा नेपाली राजदुतावास बेलायतले लण्डनमा आयोजना गरेको नेपाली डायस्पोरासँग भेटघाट कार्यक्रम।
नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता डा शेखर कोइराला, जनसम्पर्क समित बेलायतका अध्यक्ष युवराज सिंह डा सम्पूर्णानन्द ढुगाना, विश्व आदर्श पण्डित र गैरआवासीय नेपाली महासंघ बेल्जियमकी अध्यक्ष सीता सापकोटालगायत ।
डा शेखर कोइरालाको सम्मानमा नेपाली राजदुतावास बेलायतले लण्डनमा आयोजना गरेको नेपाली डायस्पोरासँग भेटघाट कार्यक्रम
नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता डा शेखर कोइराला लगायत ।
इन्जिनियर आरके त्रिपाठीको निवासमा डा. शेखर लगायत ।
नागरिक समाज बेलायतले गरेको सम्मान कार्यक्रममा डा. शेखर कोइराला, कुल आचार्य, समाजका अध्यक्ष शेरबहादुर सुनार लगायत ।
सोसाइटी अफ नेपलिज प्रोफेशनल्स युकेले आयोजना गरेको "डायस्पोरा नेपाली समुदाय र नेपाली नागरिकता" विषयक कार्यक्रममा डा. शेखर कोइराला, गजेन कटुवाल लगायत ।


नेपलिज डक्टर्स एसोसिएसन बेलायतले नर्वीचमा आयोजित कार्यक्रममा डा शेखर कोइराला, डा सम्पुर्णानन्द ढुङ्गाना, आरके त्रिपाठी, युवराज सिंह नेपलिज डक्टर्स एसोसिएसन बेलायतका पूर्व अध्यक्ष डा कमलराज अर्याल लगायत ।


