‘द भ्वाइस अफ नेपाल’ सिजन ६: नयाँ कोच र नयाँ ऊर्जा लिएर सुरु हुँदै
काठमाडौं – गायनमा आधारित लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौँ सिजन पुसको तेस्रो साताबाट सुरु हुने भएको छ। यस सिजनमा कोचहरूको नयाँ टोली र ताजा ऊर्जा दर्शकका लागि मुख्य आकर्षण बन्नेछ।
यसपटक कोचका रूपमा पहिलो सिजनदेखि निरन्तर सहभागी गायक प्रमोद खरेल बाहिरिएका छन्। कार्यव्यस्तताका कारण उनी सहभागी हुन नसकेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। खरेलको स्थानमा यसपटक चर्चित लोकगायक खेम सेञ्चुरी र ‘भ्वाइस अफ किड्स’ की कोच मेलिना राई नयाँ अनुहारका रूपमा भ्वाइसमा भित्रिएका छन्।
कोचको टोलीमा राजु लामा पुनः फर्किएका छन् भने पाँचौँ सिजनका कोच उदय सोताङ दोहोरिएका छन्। यसरी सिजन ६ का कोचहरूमा राजु लामा, खेम सेञ्चुरी, मेलिना राई र उदय सोताङ रहनेछन्।
यो सिजनमा डिजिटल अडिसनबाट छानिएका १२० भन्दा बढी प्रतिभाले ब्लाइन्ड अडिसनमा आफ्नो प्रस्तुति दिनेछन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतियोगी ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्। १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीतमा प्रतिस्पर्धा गर्न तयार प्रतिभाहरूलाई यो सिजन विशेष सांगीतिक प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्घोष भने सधैंझैँ चर्चित होस्ट सुशील नेपालले गर्नेछन्। नयाँ कोच र ताजा स्वरूपका कारण यो सिजनले दर्शकलाई झनै रोमाञ्चित बनाउने विश्वास लिइएको छ।
<>
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय