Harsamaya
अमेरिकामा विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु
अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना

काठमाडौं- अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।

बिबिसीका अनुसार अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएका थिए।

 उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए।

प्रहरी अधिकारीहरूले जानकारी दिँदै अहिलेसम्म १८ जनाको शव फेला परिसकेको बताएका छन्।

बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ।

स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरू गरिएको छ। उक्त विमानले रिगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो।

 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update