Harsamaya
‘नो केबलकार’ पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आव्हान
कोशी प्रदेशको मुख्यमन्त्रीको कार्यालय ।

विराटनगर - कोशी प्रदेश सरकारले नो केबलकार पक्षधरलाई वार्तामा आउन आव्हान गरेको छ।

कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको बैठकले केबलकार निर्माणको विषयलाई लिएर असन्तुष्ट रहेका उनीहरूलाई वार्तामा आउन आव्हान गरेको हो। 

केही दिनदेखि ताप्लेजुङलगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आव्हान गरेको हो। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिकरूपमा वार्ताको आव्हान गरेको हो।

ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केबलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए। 'असन्तुष्ट पक्षहरूसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रूपमा वार्ताको लागि आव्हान गर्दछ,' निर्णयमा भनिएको छ। 

प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री  रेवती रमण भण्डारी र र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको समिति बनाएको थियो। 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update