Harsamaya
इतिहास : महात्मा गान्धीको हत्या भएको दिन, जसले विश्वलाई नै स्तब्ध बनाएको थियो 
अहिंसा र सत्याग्रहका प्रवर्तक महात्मा गान्धी

नयाँ दिल्ली - ३० जनवरी १९४८ – अहिंसा र सत्याग्रहका प्रवर्तक महात्मा गान्धीको आजकै दिन १९४८ मा हत्या गरिएको थियो। नाथूराम गोड्से नामका एक हिन्दूले राजधानी दिल्लीस्थित बिरला भवनमा प्रार्थना सभाका क्रममा उनलाई गोली हानेका थिए।

गान्धी साँझको प्रार्थनाका लागि बिरला भवन गएका थिए । जहाँ उनी समर्थकहरूसँग संवाद गर्दै थिए। त्यही क्रममा गोड्सेले नजिकै आएर उनको छातीमा तीन गोली हाने। गोली लागेपछि गान्धीले 'हे राम!' भन्ने अन्तिम शब्द उच्चारण गरेको बताइन्छ।

नाथूराम गोड्से 'हिन्दू महासभा' का समर्थक थिए। उनी गान्धीको विभाजनकालीन नीतिहरू र पाकिस्तानलाई दिइएको आर्थिक सहयोगको विरोधमा थिए। गोड्सेले गान्धीलाई भारतको विभाजनका लागि दोषी ठानेका कारण हत्या गरेको बयान दिएका थिए।

गान्धीको हत्या भएपछि देशभर शोकको वातावरण छायो। लाखौं भारतीय शोकमा डुबे । विश्वभरबाट समेत शोक सन्देशहरू आए। भारत सरकारले घटनापछि हिन्दू महासभामाथि प्रतिबन्ध लगायो । गोड्सेलाई पक्राउ गरी अदालती प्रक्रिया अघि बढाइयो।

यस घटनाले भारतको सामाजिक, राजनीतिक र धार्मिक क्षेत्रमा ठूलो असर पार्‍यो। अहिंसा र सहिष्णुता सिकाउने व्यक्तित्वको यति दुःखद अन्त्यले विश्वभर नै हलचल ल्याएको थियो। गान्धीको अन्तिम संस्कार जनवरी ३१, १९४८ मा यमुना नदी किनारमा भएको थियो । जसमा लाखौं मानिसहरू श्रद्धाञ्जली दिन आएका थिए।

आज पनि महात्मा गान्धीको स्मरणमा जनवरी ३० लाई शहीद दिवस को रूपमा मनाइन्छ, जहाँ देशभर उनको अहिंसाका सन्देशलाई आत्मसात गर्ने कार्यक्रमहरू आयोजना गरिन्छ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update