सूर्यदर्शन सहकारी ठगी : लीला पछाइको बयान जारी
गण्डकी - पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मङ्गलबार सकिएपछि सोही दिनदेखि पछाइको बयान सुरु गरिएको थियो । बुधबार सार्वजनिक बिदाका कारण बयान रोकिएपछि आजदेखि पुनः उनको बयान सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दाका प्रतिवादीहरुको बयान भइरहेको हो । पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताए ।
सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरुको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनीमाथि कास्कीसहित अन्य जिल्लामा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १५:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय