हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
भूपी शेरचनका यी कविताहरुले देशका खातिर रगत उमाल्छ । दासताहरुबाट देश र जनतालाई मुक्ति दिलाउन प्रेरणा मिल्छ तर यो देश यस्तो हो जहाँ सहिदमा नामको लिष्ट लामो छ, तर देशका अवस्था उस्तै छ । सहिदका सपनाहरु अलपत्र छन् ।
धेरै देशप्रेमीहरुले देशका खातिर रगत बगाए । विभिन्न कालखण्डमा सहिद हुनेको नामको सूची हेर्दा देश उहिल्यै बनिसक्नु पर्ने हो । तर आज पनि देशको हालत उस्तै छ । देशमा सम्भावनाका ढोकाहरू बन्द देखेर विदेशिनेको लर्को हेरिनसक्नु छ ।
तर त्यसो भन्दैमा विभिन्न कालखण्डमा सहिद बनेकाहरुले गरेको योगदानलाई भने भुल्न सकिन्न । सहिदहरुले गरेको योगदान सम्झदै प्रत्येक वर्षको माघ १६ मा सहिद दिवस मनाउने गरिन्छ । विसं २००७ पछिदेखि नै माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । राणा शासकहरुलाई लर्कारेर स्वतन्त्रताको विगुल बजाउने पहिलो सहिद लखन थापा हुन् । उनी पछि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले राणा शासकहरूको अन्याय र अत्याचारको विरुद्ध बोल्दा लेख्दा जीवन उत्सर्ग गर्नुपर्यो ।
को हुन् यी पाँच सहिदहरू ?
लखन थापा मगर
नेपालका प्रथम सहिद हुन् । उनी नेपालको पहिलो व्यक्ति थिए जसले राणा शासनको प्रतिरोध गरे । उनले जंगबहादुर राणाको शासनविरुद्ध विद्रोह गरे । जंगबहादुर राणा शासनलाई नष्ट गर्न स्वतन्त्र राज्य र सेना गठन गर्न आफ्नो राजनीतिक विचारधाराको प्रचार गरे । राणा शासनविरुद्ध विद्रोह गरेका लखनलाई वि.सं.१९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
शुक्रराज शास्त्री
वि. सं. १९५० सालमा बनारसमा शुक्रराज शास्त्रीको जन्म भएको थियो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए ।
त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्केका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए ।
धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्र चोकमा मानिसहरूलाई भेला गराएर गीताका श्लोकमार्फत व्यवस्थाको आलोचना गरेका थिए । राणाको विरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।
१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्ण नारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । ४ जनालाई प्राणदण्ड दिइयो ।
जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो । प्राणदण्ड दिएको अरु जनताले पनि देखुन् र शासनव्यवस्थाका विरुद्धमा बोल्ने आँट नगरुन् भनेर २ दिनसम्म शास्त्रीको शव रुखको हाँगामा झुण्ड्याइएकै अवस्थामा राखिएको थियो ।
धर्मभक्त माथेमा
धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहालमा भएको थियो। बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउथे ।
त्यही कारणले धर्म भक्तले दार्जिलिङमा शिक्षा आर्जन गरे । केही समय कलकत्तामा पनि पढे । शरीर दुब्लो भएकाले व्यायाम गर्न थाले । बङ्गालको शारीरिक व्यायामशालाबाट उनी बङ्गाल च्याम्पियन भएर नाम कमाए। बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उनलाई राजनीतिको ज्ञान मिल्यो।
वि.सं. १९९० मा धर्म भक्त माथेमाको उत्तरादेवीसँग विवाह भयो । उनले भारतको स्कटिस चर्च कलेजबाट आई.ए.उत्तीर्ण गरेका थिए । बाल्य कालमा धर्म भक्त माथेमालाई दुब्लो र पातलो भएका कारण साथीहरूले निकै सताउथे ।
कलकत्ता हुँदा उनी शरीर बनाउन जिमखाना गए । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हासिल गरेर उनी बंगाल च्याम्पियन भए । कलकत्ताबाट काठमाडौं फर्केर उनले ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना खोले । उनको जिमखानामा राणा परिवारका सदस्य र प्रहरीहरू समेत जिमका लागि जान्थे ।
एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उनको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित भए । पछि त्रिभुवनले उनलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गरे ।
माथेमा सम्भवतः नेपालको पहिलो शारीरिक सुगठनका खेलाडी थिए । जसले राणाकालीन समय अन्तर्गत वि.सं १९९० को दशकतिर काठमाडौं टुँडिखेलको खुला चौरमा बलिष्ठ शरीरद्वारा पहिलो पटक शारीरिक सुगठन खेलको प्रदर्शनी गरेका थिए ।
वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्म भक्तको भेट भयो। पछि चन्द पनि नेपाल प्रजापरिषद्को संस्थापक सदस्य भए । उनले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजा परिषद्को स्थापना गरेका थिए । प्रजा परिषद् र राजा त्रिभुवनका बीचमा उनीबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए।
२ कात्तिक १९९७ मा प्रजा परिषद् सदस्य धर्म भक्त पक्राउ परे । अन्य प्रजा परिषद्का सदस्यहरू पनि पक्राउ परे । पक्राउ परेकालाई सिंहदरबार (रेडियो नेपालको पुरानो भवन)मा राखियो । त्यहाँ उनीहरूमाथि चरम यातना दिइयो । यही यातनाका बीच पक्राउ परेकाहरूको बयान र अदालती प्रक्रिया सुरु गरियो ।
पक्राउ गरेको तीन महिनापछि ६ माघ १९९७ मा फैसला सुनाइयो । फैसलाअनुसार शुक्रराज शास्त्री, माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड र बाँकीलाई कैद तथा जन्मकैदको सजाय सुनाइयो । ब्राह्मण भएका कारण टंकप्रसाद आचार्यलाई मृत्युदण्ड दिइएन ।
माघ १३ गते राति दस बजेतिर धर्म भक्तलाई सिफल पुर्याइयो । दुवै हात पछाडि फर्काएर बाँधिएका धर्म भक्तलाई नर शमशेरले अन्तिम इच्छा सोध्दा उनले जबाफ दिए—‘राणशासनको छिट्टै अन्त्य भएर जनताले सुख शान्ति पाउन् भन्ने इच्छा छ’ धर्म भक्तको यस्तो भनाइबाट रिसले मुरमुरिएका नर शमशेरले हतार हतार फाँसीमा झुन्ड्याउने आदेश दिए ।
रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरि अर्को हाँगामा झुन्ड्याइयो । धर्म भक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुई पल्टसम्म फाँसीबाट बचेका धर्म भक्तको गाला नर शमशेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरूलाई पिट्न लगाए ।
धेरै बेरको पिटाइपछि उनी बेहोस भए । अनि बेहोस भएकै बेला फेरि डोरीले घाँटी कसेर उनलाई रुखमा झुन्ड्याइयो । ‘संस्था खडा गरेर दुनियाँ भड्काउने पर्चा छरेको र राजकाज समेत आफैँ चलाउने प्रयास गरेकोले यस्तो सजाय पायो ।’ भन्ने लेखेर धर्म भक्तको छातीमा टाँसिएको थियो ।
अर्को दिन बेलुकीसम्म रुखमा झुन्डिएको धर्म भक्तको शव हटाइएन । उनका पिता आदिभक्त र भाइ धुव्रभक्त पनि जेलमा भएकाले अरू कोही आफन्त शव बुझ्न आएनन् । २४ घण्टापछि सरकारले नै उनको सद्गत गर्यो ।
गंगालाल श्रेष्ठ
भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गंगालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २/३ वर्ष पढेपछि उनी काठमाडौं फर्किएका थिए । वि.सं. १९९४ मा उनले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी पढ्नमा अब्बल थिए ।
त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दै गरेको समयमा गंगालाल महावीर संस्थाका कार्यकर्ता बने । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गंगालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउ गरेको थियो । पछि उनी छुटेका थिए । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिएका उनी राणा शासन विरोधी गतिविधिमा सक्रिय थिए ।
प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते उनीलाई पक्राउ गर्यो। उनीलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उनलाई मृत्युदण्ड दिने अघिल्लो दिन उनको छोराको जन्म भएको थियो ।
गंगालालले मृत्यु अघि भनेका थिए, “मेरो शरीर मर्दैमा के फरक पर्छ? म मेरो देशको लागि जिउँदै छु।” यो वाक्य आज पनि नेपाली युवालाई प्रेरणा दिने शब्द बनेको छ।
दशरथ चन्द
दशरथ चन्दको जन्म वि.सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो। उनका पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ।
राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । त्यसअघि उनले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढे ।
उनले काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाले । महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनले सक्रिय रूपमा भाग लिएका थिए । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो । वि.सं. १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे ।
त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाए । उनी नेपाल प्रजापरिषद्को कार्यकर्ता थिए । उनी ‘सेवासिंह’ नामक छदम नामबाट राणा विरोधी लेख छाप्थे ।
उनलाई राणा विरोधी गतिविधिमा सक्रिय भएका कारणले जेल चलान गरियो । दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलको कोठामा परेका थिए । तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो। उनलाई १९९७ साल माघ १५ गते गंगालालसँगै सेन्ट्रल जेलबाट लगी विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।