काठमाडौँ - राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।
सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।
माघ १६ नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदहरूले देखेको सपना र लिएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरेका छन् ।
राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा सहिदहरुको योगदानको कदर गर्दै सहिद परिवारहरुको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदहरूप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ ।
सहिद दिवस २०८१ को शुभकामना :-