Harsamaya
इतिहास: गंगालाल श्रेष्ठ जसलाई छोरा जन्मिएको भोलिपल्टै मृत्युदण्ड दिइयो
शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक ।
काठमाडौं - भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गंगालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २/३ वर्ष पढेपछि उनी काठमाडौं फर्किएका थिए । वि.सं. १९९४ मा उनले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी पढ्नमा अब्बल थिए । 
 
 त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दै गरेको समयमा गंगालाल महावीर संस्थाका कार्यकर्ता बने । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गंगालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउ गरेको थियो । पछि उनी छुटेका थिए । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिएका उनी राणा शासन विरोधी गतिविधिमा सक्रिय थिए । 
 
प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते उनीलाई पक्राउ गर्‍यो। उनीलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उनलाई मृत्युदण्ड दिने अघिल्लो दिन उनको छोराको जन्म भएको थियो ।  
 
गंगालालले मृत्यु अघि भनेका थिए, “मेरो शरीर मर्दैमा के फरक पर्छ? म मेरो देशको लागि जिउँदै छु।” यो वाक्य आज पनि नेपाली युवालाई प्रेरणा दिने शब्द बनेको छ।
 
दशरथ चन्द
 
दशरथ चन्दको जन्म वि.सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो। उनका पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ।
 
राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । त्यसअघि उनले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढे । 
 
उनले काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाले । महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनले सक्रिय रूपमा भाग लिएका थिए । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो । वि.सं. १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे ।
 
त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाए । उनी नेपाल प्रजापरिषद्को कार्यकर्ता थिए । उनी ‘सेवासिंह’ नामक छदम नामबाट राणा विरोधी लेख छाप्थे । 
 
उनलाई राणा विरोधी गतिविधिमा सक्रिय भएका कारणले जेल चलान गरियो । दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलको कोठामा परेका थिए । तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो।  उनलाई १९९७ साल माघ १५ गते गंगालालसँगै सेन्ट्रल जेलबाट लगी विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।
 
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update