काठमाडौं - काठमाडौंमा रहेका तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा तीन दिन सोनाम ल्होछार मनाउने भएका छन् ।
नेपाल तामाङ घेदुङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ देखि १७ गतेसम्म काठमाडौंको टुँडिखेलमा भव्य रुपमा सोनाम ल्होछार–२८६१ मनाइने जनाएको हो ।
कार्यक्रमको मुख्य दिन माघ १७ गते झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्ने र सोनाम ल्होछार मनाइने राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले जानकारी दिए ।
महोत्सवमा तामाङ जातिका सांस्कृतिक संस्थाहरू ताम्वा, बोन्वो तथा सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरु डम्फू सेलो प्रस्तुत गरिने उनले बताए ।
तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा शुरु हुन्छ । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तामाङहरूको घरघरमा कम्तीमा ५ दिन भव्य रूपमा मनाउँदै आएका छन् ।
ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर तथा सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।