Harsamaya
सहकारी संस्थाको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना 
राष्ट्रिय सहकारी नियमन प्राधिकरण

काठमाडौं - बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । 

ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका हुन् । सहकारी नियमन प्राधिकरणको उद्घाटन गर्दै मन्त्री अधिकारीले अहिलेको आवश्यकता र मागका आधारमा प्राधिकरणले आफ्नो काम गर्नुपर्नेमा जोड दिए । 

उनले प्राधिकरण गठन भएसंगै सहकारीको नियमन हुने र अनियमितता गर्नेमाथि छानबिन हुने स्पष्ट पारे । प्राधिकरण स्वायत्त र अधिकारसम्पन्न भएकाले कहीकतैबाट हस्तक्षेप नहुने उनले बताए । 

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि प्राधिकरणको कार्यालय स्थापना गरिएको हो ।

प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्नेछ । नियम पालना नगर्ने सहकारीलाई कारबाही गर्नेसम्मको अधिकार प्राधिकरणलाई दिइएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीलाई सपथ गराइएको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update