Harsamaya
वर्ल्ड एक्स्पो २०२५ लाई लक्षित गर्दै ओसाकामा आजदेखि ‘सडक धूम्रपान’ प्रतिबन्ध
जापानको ओसाका शहरले आजदेखि सार्वजनिक सडकमा धूम्रपानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

टोकियो - जापानको ओसाका शहरले आजदेखि सार्वजनिक सडकमा धूम्रपानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यो निर्णय वर्ल्ड एक्सपो २०२५ लाई लक्षित गरी शहरलाई आगन्तुकमैत्री बनाउने प्रयास अन्तर्गत गरिएको हो।

वर्ल्ड एक्स्पो २०२५ अप्रिलमा सुरु हुँदैछ, जसमा विश्वभरका करिब १६० देश तथा क्षेत्रको सहभागिता रहनेछ।

ओसाकाका मेयर हिडेयूकी योकोयामाले जनवरीको सुरुमा भनेका थिए, ‘वर्ल्ड एक्सपो सुरु हुन लाग्दा हामी धेरै आगन्तुकलाई स्वागत गर्न चाहन्छौं। त्यसैले, ओसाकालाई धूम्रपानरहित र सुरक्षित शहर बनाउने हाम्रो प्रयास हो।’

यसअघि ओसाका स्टेशन वरपरका ६ क्षेत्रहरूमा धूम्रपान प्रतिबन्धित थियो। आजदेखि यो प्रतिबन्ध शहरभर लागू गरिएको छ। नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई १ हजार येन (झन्डै ६.४० अमेरिकी डलर) जरिवाना लाग्नेछ।

जापानमा अधिकतम स्थानमा हिँड्दाहिँड्दै धूम्रपान प्रतिबन्धित छ, तर केही कानुन निर्माताहरूको विरोधका कारण राष्ट्रिय स्तरमा कडा कानुन लागू गर्न सकिएको छैन।

अप्रिलदेखि, ओसाका क्षेत्रमा ३० वर्ग मिटरभन्दा ठूलो बैठक क्षेत्र भएका भोजनालयहरूमा धूम्रपान निषेध हुनेछ। यद्यपि, छुट्टै कोठा वा धूम्रपान कक्षमा धूम्रपान गर्न अनुमति दिइनेछ।

जापानका राष्ट्रिय कानुनअनुसार १०० वर्ग मिटरभन्दा ठूलो भोजनालयमा धूम्रपान प्रतिबन्धित छ।

वर्ल्ड एक्स्पो २०२५ को टिकट बिक्री र निर्माण बजेटबारे जनताका चासोहरू रहेका छन्। जनवरीको सुरुमा ६ महिने कार्यक्रमका लागि करिब ७.५ मिलियन टिकट बिक्री भएको थियो, जुन आयोजकहरूको लक्ष्यको आधा मात्र हो।

स्मरणीय छ, टोकियोले सन् २०१८ मा टोकियो ओलम्पिक्सलाई लक्षित गरी सबै भोजनालयहरूमा धूम्रपान प्रतिबन्ध लगाएको थियो। यद्यपि, टोकियो बाहिरका केही जिल्लाहरूमा धूम्रपान अझै पनि अनुमति छ।

जापानको केन्द्रीय र स्थानीय सरकारले हरेक वर्ष करिब दुई ट्रिलियन येन (१३ अर्ब अमेरिकी डलर) धूम्रपान करमार्फत राजस्व आर्जन गर्छन्। राष्ट्रिय सरकारले जापान टोब्याक्को नामक विश्वको तेस्रो ठूलो चुरोट उत्पादक कम्पनीमा एक-तिहाइ हिस्सेदारी पनि राखेको छ।

विश्वव्यापी रूपमा घट्दो धूम्रपान दरसँगै जापानमा पनि चुरोट सेवनमा कमी आएको छ। सन् २०२३ मा धूम्रपान गर्नेहरूको अनुपात १५.७ प्रतिशत रहेको छ। 

भिडियो सन्देश:-

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update