Harsamaya
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल र पेट्रोल आयात गर्दै। (फाइल फोटो)

पर्सा - वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल आयात बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

सो अवधिमा राजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ। आव २०८१÷८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो।

गत आवको सोही अवधिमा भने रु ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो। चालु आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ।

चालु आवको पाँच महिनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजारको एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको सोही अवधिमा भने रु १६ अर्ब ३९ करोड ८० लाख ६० हजारको एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो। गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै आयात हुँदै आएको छ। नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने तयारी गरेको जनाएको छ।

यसैबीच, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको कार्य सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताएका छन्।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update