Harsamaya
रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउने
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

बुटवल - पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।

बिहीबारदेखि रूपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । 

सरकारी वकिलको तर्फबाट बहस सकिएको छ, लामिछानेकोतर्फबाट केही वकिलको बहस बाँकी नै छ । 

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपन्देही अदालतमा उपस्थित भएका थिए, सो दिन पछि हाजिरी जमानीमा रिहा भइरहेका छन् ।

सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update