इतिहास - धर्मभक्त माथेमा जसलाई गालामा चक्कुले चिरियो र बेहोसीमै झुन्ड्याएर फाँसी दिइयो
काठमाडौं - धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहालमा भएको थियो। बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउथे ।
त्यही कारणले धर्म भक्तले दार्जिलिङमा शिक्षा आर्जन गरे । केही समय कलकत्तामा पनि पढे । शरीर दुब्लो भएकाले व्यायाम गर्न थाले । बङ्गालको शारीरिक व्यायामशालाबाट उनी बङ्गाल च्याम्पियन भएर नाम कमाए। बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उनलाई राजनीतिको ज्ञान मिल्यो।
वि.सं. १९९० मा धर्म भक्त माथेमाको उत्तरादेवीसँग विवाह भयो । उनले भारतको स्कटिस चर्च कलेजबाट आई.ए.उत्तीर्ण गरेका थिए । बाल्य कालमा धर्म भक्त माथेमालाई दुब्लो र पातलो भएका कारण साथीहरूले निकै सताउथे ।
कलकत्ता हुँदा उनी शरीर बनाउन जिमखाना गए । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हासिल गरेर उनी बंगाल च्याम्पियन भए । कलकत्ताबाट काठमाडौं फर्केर उनले ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना खोले । उनको जिमखानामा राणा परिवारका सदस्य र प्रहरीहरू समेत जिमका लागि जान्थे ।
एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उनको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित भए । पछि त्रिभुवनले उनलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गरे ।
माथेमा सम्भवतः नेपालको पहिलो शारीरिक सुगठनका खेलाडी थिए । जसले राणाकालीन समय अन्तर्गत वि.सं १९९० को दशकतिर काठमाडौं टुँडिखेलको खुला चौरमा बलिष्ठ शरीरद्वारा पहिलो पटक शारीरिक सुगठन खेलको प्रदर्शनी गरेका थिए ।
वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्म भक्तको भेट भयो। पछि चन्द पनि नेपाल प्रजापरिषद्को संस्थापक सदस्य भए । उनले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजा परिषद्को स्थापना गरेका थिए । प्रजा परिषद् र राजा त्रिभुवनका बीचमा उनीबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए।
२ कात्तिक १९९७ मा प्रजा परिषद् सदस्य धर्म भक्त पक्राउ परे । अन्य प्रजा परिषद्का सदस्यहरू पनि पक्राउ परे । पक्राउ परेकालाई सिंहदरबार (रेडियो नेपालको पुरानो भवन)मा राखियो । त्यहाँ उनीहरूमाथि चरम यातना दिइयो । यही यातनाका बीच पक्राउ परेकाहरूको बयान र अदालती प्रक्रिया सुरु गरियो ।
पक्राउ गरेको तीन महिनापछि ६ माघ १९९७ मा फैसला सुनाइयो । फैसलाअनुसार शुक्रराज शास्त्री, माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड र बाँकीलाई कैद तथा जन्मकैदको सजाय सुनाइयो । ब्राह्मण भएका कारण टंकप्रसाद आचार्यलाई मृत्युदण्ड दिइएन ।
माघ १३ गते राति दस बजेतिर धर्म भक्तलाई सिफल पुर्याइयो । दुवै हात पछाडि फर्काएर बाँधिएका धर्म भक्तलाई नर शमशेरले अन्तिम इच्छा सोध्दा उनले जबाफ दिए—‘राणशासनको छिट्टै अन्त्य भएर जनताले सुख शान्ति पाउन् भन्ने इच्छा छ’ धर्म भक्तको यस्तो भनाइबाट रिसले मुरमुरिएका नर शमशेरले हतार हतार फाँसीमा झुन्ड्याउने आदेश दिए ।
रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरि अर्को हाँगामा झुन्ड्याइयो । धर्म भक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुई पल्टसम्म फाँसीबाट बचेका धर्म भक्तको गाला नर शमशेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरूलाई पिट्न लगाए ।
धेरै बेरको पिटाइपछि उनी बेहोस भए । अनि बेहोस भएकै बेला फेरि डोरीले घाँटी कसेर उनलाई रुखमा झुन्ड्याइयो । ‘संस्था खडा गरेर दुनियाँ भड्काउने पर्चा छरेको र राजकाज समेत आफैँ चलाउने प्रयास गरेकोले यस्तो सजाय पायो ।’ भन्ने लेखेर धर्म भक्तको छातीमा टाँसिएको थियो ।
अर्को दिन बेलुकीसम्म रुखमा झुन्डिएको धर्म भक्तको शव हटाइएन । उनका पिता आदिभक्त र भाइ धुव्रभक्त पनि जेलमा भएकाले अरू कोही आफन्त शव बुझ्न आएनन् । २४ घण्टापछि सरकारले नै उनको सद्गत गर्यो ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ ०९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय