Harsamaya
महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण चितवनमा सुरु
महिला यु–१९ विश्वकपको तयारीमा चितवनमा बन्द प्रशिक्षण चलिरहेको दृश्य।

भरतपुर - महिला यु–१९ क्रिकेट टिमको बन्द प्रशिक्षण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबारदेखि सुरु भएको छ। मलेसियामा आगामी माघ ५ गतेदेखि सुरु हुने महिला यु–१९ विश्वकपको तयारीका लागि यो प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको हो।

प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालका अनुसार, प्रशिक्षणमा मुख्यत: ‘ब्याटिङ, बलिङ र फिटनेस’मा ध्यान दिइने छ। बन्द प्रशिक्षण पुस २२ गतेसम्म जारी रहने छ।

टोलीका व्यवस्थापक विनोद दासले चितवनको अन्तर्राष्ट्रियस्तरीय क्रिकेट मैदानलाई प्रशिक्षणको लागि उपयुक्त स्थान भएको बताएका छन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै, प्रशिक्षार्थीलाई आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) का उपध्यक्ष रोशन सिंहले, क्यानका अध्यक्षको समन्वयमा चितवनमा यो प्रशिक्षण आयोजना गरिएको र सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप पनि गौतमबुद्ध क्रिकेट रङ्गशालामा हुने सकारात्मक योजना रहेको बताए।

नेपाली टिम १८ सदस्यीय टोलीसहित पुस २७ गते मलेसिया प्रस्थान गर्नेछ, जहाँ उनले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग खेल्नेछन्।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update