Harsamaya
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कमल, अधिवेशनमा को नेताले के भने ? 
कांग्रेस सिन्धुपाल्चोक जिल्लाको प्रथम नेपाल भूतपूर्व सैनिक संघको अधिवेशन ।

सिन्धुपाल्चोक - कांग्रेस सिन्धुपाल्चोक जिल्लाको प्रथम नेपाल भूतपूर्व सैनिक संघको अधिवेशन सम्पन्न भएको छ। 

अधिवेशनले अध्यक्षमा कमल बहादुर राउतको कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो। सचिवमा ज्ञानेन्द्र सिग्देल कोषाध्यक्षमा जलप्रसाद लम्साल निर्वाचित हुँदा सदस्यहरुमा रमेश राउत ,कृष्ण अधिकारी, प्रकाश तामाङ, डिल्ली प्रसाद भट्टराई , सुदर्शन कार्की , कृष्ण तामाङ, खिल बहादुर तामाङ, गन बहादुर तामाङ, केदार चालिसे, श्रीध्वज लामा, होम बहादुर कार्की र सागर तामाङ निर्वाचित भएको निर्वाचन अधिकृत तुलसी प्रसाद दंगालले बताए।

त्यस्तै बागमती प्रदेश प्रतिनिधिमा बुद्धि बहादुर तामाङ, शेर बहादुर तामाङ, फटक बहादुर कार्की, रमेश राउत, प्रकाश तामाङ र लिला बहादुर तामाङ चुनिए। संघीय प्रतिनिधितर्फ भने मनिलोचन न्यौपाने, भुपेन्द्र थापा, बोधविक्रम पण्डित, गोपाल जिरेल र श्रीध्वज लामा निर्वाचित भए।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती कांग्रेसका सहमहामन्त्री हरिशरण श्रेष्ठले निवृत्त भएर बसेका भूतपूर्व सैनिकहरूलाई संगठित गर्न सकेमा पार्टीको संगठन बढ्ने र बलियो हुने बताए । श्रेष्ठले सिन्धुपाल्चोकमा केन्द्रले सर्कुलर गरेको कार्यक्रम गर्न नसकेकोमा दुख व्यक्त गरे। केन्द्रले सर्कुलर गरेको कार्यक्रम गर्न सकेको छैन यसको कारण के हो ? यस्तो गतिविधि ले पार्टीलाई असर पर्ने बताउँदै श्रेष्ठले चिन्ता व्यक्त गरे। सहमहामन्त्री श्रेष्ठले जिल्लाका नेताहरूलाई एकआपसमा रचनात्मक सहयोग गरि अघि बढ्न अनुरोध गरे।

यता भूतपूर्व सैनिक संघका विभागीय सदस्य एवम् लमजुङका पुर्व जिल्ला सभापति गर्ज बहादुर  गुरुङले  पार्टीको विपि अध्ययन केन्द्र ऐतिहासिक बनेको देख्दा आफूलाई साह्रै खुशी लागेको बताए । भूतपूर्व सैनिक संघ  सेनाहरूको साझा चौतारी भएको उनले बताए ।  'सिङ्गापुर, इन्डियन नेपाली तिनै सेनाहरूको साझा चौतारी हो निवृत्त भएका भूपूहरूको संगठन सैनिक संघ', उनले भने ।

'समयमै सिन्धुपाल्चोकमा सिन्धुपाल्चोकमा भूपु सैनिक संघ गठन गरेको भए राप्रपा माओवादीले शासन गर्न बन्चित हुनुपर्ने अवस्था आउने थियो अरु जिल्लामा चौथो पाचौं अधिवेशन भैसक्यो यहाँ बल्ल प्रथम अधिवेशन हुँदै छ', उनले भने।

सैनिक साथीहरूलाई भोट र नोट हैन जिम्मेवारी दिएर अघि बढाउन पनि उनले अनुरोध गरे।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै महासमिति सदस्य बंशलाल तामाङले भूपु सैनिक संघले आफ्नो अधिवेशन समयमै गरेकोमा शुभकामना व्यक्त गरे।

भूपु सैनिकहरूले जीवनको अत्यन्तै उर्वरा समय देश र जनतामा खर्चिएको र बाकी समय लोकतन्त्रको पक्षमा समय दिएकोमा खुशी व्यक्त गरे। अनुभव र अनुशासन सम्हालेको सैनिकले कांग्रेसको संगठन निर्माणमा थप सहयोग पुग्ने तामाङले बताए ।

तामाङले भूपु सैनिकलाई पार्टीको मुलधार राजनीतिमा आउन अनुरोध गर्दै जिल्ला सभापति जंग लामासँग सैनिक साथीहरूलाई उचित स्थान दिन पनि अनुरोध गरे। तामाङले पार्टीका दुश्मनहरूलाई सैनिक साथीहरूले ठेगान लगाउन सक्ने बताए।

त्यस्तै महासमिति सदस्य शिव सुनारले सैनिक संघ विधिवत् रुपमा अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । देश र जनताको लागि जीवनको अमुल्य रगत र पसिना बगाएकोमा सैनिकलाई उच्च सम्मान व्यक्त गर्दै चेन अफ कमान्ड सम्हालेका सैनिक साथीहरूले पार्टीलाई मार्गनिर्देशन र घचघच्याई पार्टीलाई सही दिशामा दोहोराउन मद्दत पुग्ने  बताए।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कांग्रेस जिल्ला सचिव एवम् त्रीपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले सबल र  सक्षम नेतृत्व गर्ने टिम बनोस् भन्दै शुभकामना दिए । सैनिक संघको प्रथम अधिवेशनले भावनात्मक एकताको सन्देश दिने प्रयास गरेको बताउँदै सैनिकहरू लामो समयसम्म अनुशासनमा बसेर चेन अफ कमाण्ड सम्हालेकाले पार्टीलाई पनि अनुशासनमा बस्न सिकाउनु पर्ने उनले बताए।

यता पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले पार्टीमा भूपु सैनिक साथीहरूको महत्त्वपूर्ण भुमिका रहने बताउँदै सैनिक संघको अधिवेशन मा सबै नेताहरूको उपस्थिति देखिएको र एकताको सन्देश दिएको पनि बताए। तामाङले नेताहरूको टिकाटिप्पणी नगर्न अनुरोध गरे।

नेताहरूको टिकाटिप्प्णी गर्न बन्द गरौ यदि टिकाटिप्प्णी गरेमा यसले नकारात्मक म्यासेज फैलाउने उनको भनाइ थियो । सैनिक संघको अधिवेशनले पार्टीको संगठन सुदृढीकरणकरण गर्नमा उर्जा मिल्ने अपेक्षा समेत उनले राखे ।

इन्द्रावती गाउँपालिका भूतपूर्व सैनिक संघका अध्यक्ष  लिला बहादुर तामाङले  स्वागत मन्तव्य राखेको कार्यक्रम मणिलोचन न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो।
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update