Harsamaya

काठमाडौं - नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । 

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रूपान्तरणमा योगदान पुराउने उद्देश्यले सानेपामा सम्मेलनको आयोजना गरिएको जनाएको हो । 

 नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीहरूको विश्लेषण गर्न तथा महिलाहरू र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन् । 

व्यवस्थासँगै अवस्था परिवर्तन गर्ने उद्देश्य रहेको उनले बताइन् । युवाहरूलाई प्रोत्साहन गर्नु कांग्रेसको दायित्व र धर्म भएकाले प्रदर्शनी र छलफलमा युवापुस्ताको सहभागिता धेरै हुने उनको भनाइ छ । ‘युवा अझ व्यवसायी युवाको समस्याहरू बुझ्न सजिलो होस भनेर युवालाई प्रोत्साहन गरिएको छ’, उनले भनिन्, ‘नेता र व्यवसायीको जमघट एकै ठाउँमा हुँदा नितिमा केही सुधार गर्न परे पनि युवाले सजिलै भन्न सकिन्छ ।’

सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र ६ हजार भन्दा बढि सहभागीहरु रहने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा नवप्रवर्तन र उद्यमशीलता कृषि उद्यमशीलता, सूचना प्रविधि बिकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे बिशेष छलफल हुने कांग्रेसले जनाएको छ । सम्मेलनबाट प्राप्त सुझावले व्यवसायीक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने अपेक्षा आयोजकको छ । 

दुई दिने सम्मेलनको कांग्रेस सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update