Harsamaya
हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने  
गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले बन्धक बनाएकाहरूको रिहा गरिदैं ।
काठमाडौं - गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ ।
 
इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ । 
 
योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन।
 
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
 
कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् । 
 
यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो। 
 
मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुभन्दा केही दिन अघि सम्झौताको घोषणा गरेका थिए । 
 
महिनौंको निरर्थक वार्तापछि यसलाई सुरक्षित गरेको श्रेय राष्ट्रपति ट्रम्पले दाबी गर्दै आएका छन् । 
 
हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले शुक्रबार टेलिग्राममा जारी विज्ञप्तिमा भनिएको छ, ‘कैदी आदानप्रदान सम्झौताअन्तर्गत कासम ब्रिगेडले भोलि चार जना महिला सैनिकलाई रिहा गर्ने निर्णय गरेको छ ।’
 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले मध्यस्थकर्तामार्फत् नाम प्राप्त भएको पुष्टि गरेको छ ।
 
प्यालेस्टिनी स्रोतहरूका अनुसार बन्धकको आदान प्रदान ग्रीनविच समयअनुसार बिहान १० बजेभन्दा पहिले नै रिहाई सुरु हुन सक्छ, यद्यपि हमास र इजरायल दुवैले अपेक्षित समयको बारेमा बयान जारी गरेका छैनन्।
 
इजरायलको जेल सेवाका अनुसार रिहा भएका प्यालेष्टिनीमध्ये केही प्यालेस्टिनी गाजा जानेछन् भने बाँकी वेस्ट बैंकमा फर्किनेछन् ।
 
इजरायलको इतिहासमै हमासले गरेको सबैभन्दा घातक आक्रमणपछि गाजामा बन्धक बनाइएका परिवारका सदस्यले १५ महिनाको पीडापछि आफ्ना प्रियजनको पुनरागमनको पर्खाइमा छन् ।
 
बन्धक बनाइरोद कोहेनकी आमा विक्की कोहेनले छोरीलाई बन्धक बनाएपछिको पीडा व्यक्त गर्दै भने, ‘यो सम्झौता अन्तसम्म कार्यान्वयन नहुने चिन्ता र डरले हामी सबैलाई पिरोलिरहेको छ ।’
 
गाजामा एक वर्षभन्दा लामो युद्धका कारण विस्थापित भएका परिवारहरू घर फर्कन चाहन्थे, तर धेरैले आफ्ना घरहरू भएको स्थान भग्नावशेष मात्र भेटिएको बताएका छन् । 
 
विस्थापित महिला थेक्रा कासेमले एएफपीसँग भने, ‘हामीले फर्किने बारे सोच्यौँ भने पनि विनाशका कारण हामीले पाल टाँग्ने ठाउँ छैन।’ 
 
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update