Harsamaya
‘आलम ’ अवतारमा सिताराम कट्टेल
फिल्म​​​​​​​ ‘लाज शरणम्’ को चौथो​​​​​​​ पोस्टर ।

काठमाडौं - बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर एक पूर्वमन्त्रीसँग मिल्न गएको छ । कट्टेल पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएका छन् । 

एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको ज्वारीकोट लगाएका छन्। उनले अर्को हातमा मोबाइल र घाँटीमा चस्मा झुण्ड्याएका छन्। कपाल आलमको जस्तै छ । उनको गेटअप आलमसँग ठ्याक्कै मिलेको देखिन्छ।

आलम रौतहटको राजपुर बम काण्डका आरोपमा निलम्बित भएका थिए। उनी अहिले १४ जनाको हत्या गरेको अभियोगमा डिल्लीबजार कारागारमा छन्।

त्यस्तै पोस्टरमा कलाकार विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, मुकुन्द श्रेष्ठ र महेश त्रिपाठी पनि फरक चरित्रमा देखिएका छन्। पृष्ठभूमिमा त्रिभुवन विमानस्थल र पहाडी भेगका मानिसहरूको दृश्य देख्न सकिन्छ।

आगामी फागुन १४ अर्थात् महाशिवरात्रीमा प्रदर्शन हुने भनिएको फिल्म कमेडी जनरामा आधारित छ। फिल्म कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गरेका हुन्। कुमारको यो डेब्यु निर्देशन हो।  फिल्म चर्चित टेलिफिल्म ‘सक्किगोनि’ समूहले बनाएको हो।

फिल्ममा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्। सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का छन्।  फिल्म सुदीप बरालले छायांकन गरेका हुन्।

फिल्म ‘लाज शरणम्’ को चौथो पोस्टर :-
Laaz-Saranam-4th-Poster-1737770034.jpg

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update