Harsamaya
 पाँच लाख ८५ हजार राशिको ‘टाइगर कप’ आजदेखि 

कास्की - पोखरा रङ्गशालामा आजदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ भलिबल प्रतियोगिताको सुरु हुने भएको छ । 

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरूषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए । 

प्रतियोगितामा विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र पुरूषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरूक्षेत्रको टिम सहभागी हुनेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । 

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन् । च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउने ज्ञवालीले उल्लेख गरे । उनका अनुसार द्वितीय टोलीले समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजारा पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउने छन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update