
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएका परिवार र घाइतेको उपचारमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, 'दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति तत्काल अभिभावकीय भूमिका पूरा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।'
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले दुर्घटनामा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन भएको र अरू थुप्रै घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।