Harsamaya
पीएम कपः आर्मीले सुदूरपश्चिमलाई हरायो
पीएम कपमा सुदूरपश्चिमलाई हराएपछि खुशी साट्दै आर्मीका खेलाडी । तस्वीर: क्यान
बैतडी - प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर चारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ ।
 
त्रिभुवन आर्मी क्लबले दिएको एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा ९६ रन मात्रै समेटिए । उसका लागि मनिसा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
 
आर्मीका लागि बलिङ सुस्मिता भुसालले तीन विकेट हात पारिन् । 
 
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् । 
 
सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन् । 
 
आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।
 
माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।
 
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको  हो । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५ हजारका दरे पुरस्कार दिइनेछ ।
 
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update