Harsamaya
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’ 
सहिद शुक्रराज शास्त्री । जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

काठमाडौं - वि. सं. १९५० सालमा बनारसमा शुक्रराज शास्त्रीको जन्म भएको थियो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए  ।

त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्केका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए । 

धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्र चोकमा मानिसहरूलाई भेला गराएर गीताका श्लोकमार्फत व्यवस्थाको आलोचना गरेका थिए । राणाको विरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।

१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्ण नारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । ४ जनालाई प्राणदण्ड दिइयो । 

जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो । प्राणदण्ड दिएको अरु जनताले पनि देखुन् र शासनव्यवस्थाका विरुद्धमा बोल्ने आँट नगरुन् भनेर २ दिनसम्म शास्त्रीको शव रुखको हाँगामा झुण्ड्याइएकै अवस्थामा राखिएको थियो । 

सहिद सप्ताह सुरु 
सहिद सप्ताहको पहिलो दिन बिहीबार शुक्रराज शास्त्रीले सहादतप्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । शास्त्रीले सामाजिक जागरणका लागि गरेको योगदानको चर्चा गर्दै उनको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । शास्त्रीलाई प्राणदण्ड दिइएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो । 

‘इतिहार स्मरण गरेर वर्तमान सम्हाल्ने र पुस्तालाई असल संस्कार पुस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।’ सभालाई सम्बोधन गर्दै महानगरपालिका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘शास्त्रीले नागरिक स्वतन्त्रताकालागि शासकबाट प्राण बक्सिस माग्नु भन्दा प्राणदण्ड स्वीकार गर्नुभयो । यो अहिलेका पुस्ताकालागि ठूलो सिकाइ हो ।’

नेपाल भाषाको व्याकरणलाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीका वहुआयामिक व्यक्तित्वको कुरा गर्दै डंगोलले, नेपाल, नेपाली, अंग्रेजी, संस्कृतसहितका भाषाको अध्ययन गरेकाले शास्त्रीमा शिक्षामार्फत सचेतना वृद्धि गर्ने हुटहुटी रहेको उल्लेख गरिन् । 

‘उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी छ । कार्यक्रमलाई विद्यालय स्तरमा लैजाऔँ । एक दिन सहिद सम्झिएर पुग्दैन ’वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले भने । 

महानगरपालिकाले प्रजातन्त्र प्राप्तिका लागि ज्यान दण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक बनाएर उनीहरूले सहादतप्राप्त गरेकै स्थानमा स्थापना गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update