Harsamaya
स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस
स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।

पोर्चुगल - स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।

राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका हुन् । शिष्टाचार भेटका अवसरमा महानिर्देशक कोउसले राजदूत नेपाललाई बधाई दिनुका साथै स्वागत गरेका थिए । यसैबीच राजदूत नेपालले म्याड्रिडस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका छन् ।

यसअघि उनलाई म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्याल, सहचारी विपिन चन्दलगायतका कर्मचारीले स्वागत गरेका थिए । नेपालले स्पेनसँगै माल्टाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी समेत ग्रहण गरेका छन् । पछिल्लो समय माल्टालाई स्पेनस्थित नेपाली दूतावासलाई जिम्मेवारी तोकिएको छ। माल्टामा नेपाली दूतावास नरहेका कारण नेपाललाई गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गरेका थिए । यसअघि उनी पोर्चुगलका लागि राजदूत नियुक्त भएको भए पनि तत्कालीन सरकारले पोर्चुगल नआउँदै फिर्ता बोलाएको थियो ।सरकारले उनलाई गत साउनमा स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले स्वदेशी तथा विदेशी सङ्घसंस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update