
मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले ८१ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले राति करिब ९ बजेतिर सवारी साधन चेकजाँच गर्ने क्रममा बा.प्र.०६–००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागि रोकेको थियो। गाडीको खानतलासी गर्दा पछाडिको ढालाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा सहित पक्राउ परेका व्यक्ति मकवानपुर कैलाश गाउँपालिका–४ का २२ वर्षीय छेटुप थिङ रहेको खुलेको छ। प्रहरीले गाडी र गाँजा नियन्त्रणमा लिई थिङलाई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस किसिमको लागुऔषध ओसारपसारको घटना दोहोरिन नदिन प्रहरीले सवारी चेकजाँचलाई थप कडाइ गर्ने जनाएको छ।