Harsamaya
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थ मन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल एमाले कास्कीद्वारा पोखरामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्वीर : हरिप्रसाद बाँस्तोल/रासस

गण्डकी - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन्।

नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए।

मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउँदै उनले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको उल्लेख गरे।

यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उनले संसदबाट अध्यादेश पारित हुने विश्वास व्यक्त गरे।

सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताए।

एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए। उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवाह फैलाउनेविरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न आग्रह गरे।

एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update