Harsamaya
‘हिँड्‌न बाँकी बाटाहरू’ मा जीवन दर्शन
कवि अर्जुनबाबु दाहालद्वारा लिखित कविताकृति ' हिँड्न बाँकी बाटाहरू' माथि विमर्श कार्य्रकममा सहभागीहरु । तस्बिर : कालिका खड्का/ रासस

‘प्रिय दुस्मन !
तिमीले मेरो बाटो नछेकेको भए
मैले बाटाहरु खोज्ने थिइनँ सायद
एउटा बाटो तिमीले छेक्दा
आज सयौँ बाटाहरु छन् मेरा अगाडि ।’

कवि अर्जुनबाबु दाहालको कविताकृति ‘हिँड्न बाँकी बाटाहरू’को प्रिय दुश्मन शीर्षकबाट लिएको कविताको एक हरफ हो यो । पेसाले आयुर्वेदिक स्वास्थ्यकर्मी दाहाल गीत, कविता सिर्जना एवं कला विधामा रमाउँदै हुर्किएका हुन् । उनलाई कवितामा जीवनदर्शन हुनुपर्छ भन्ने लाग्छ ।

'गद्य शैलीमा लेखिएको रचनामा जीवनवादी दृष्टिकोण स्पष्ट रूपमा देखिएको छ', साहित्यकार चन्द्र ढकालले भने, 'आमाको काख र गाउँप्रति मोह प्रस्तुत गर्दै सबै मानिसहरू नैतिकवान् हुनुपर्नेतर्फ इङ्कित गरेर मानिसमा निच प्रवृत्ति हटाउनुपर्नेमा जोड दिइएको छ ।' कवि दाहालको उक्त कृतिमा ५६ वटा कविता छन् । कवितामा शिल्प, दृष्टिकोण, वस्तुहरूको संयोजन, अतीतमोह देखिन्छ ।

'कवितामा तुलसी, नीम, यार्सागुम्बा, जेठीमधुजस्ता जडीबुटीका विषयवस्तु समेटिएका छन्,' साहित्यकार भारती न्यौपानेले भनिन्, 'रचनामा वर्गीय चेत पनि देखिएको छ, निम्न र माथिल्लो वर्गले भोग्नुपरेका पीडालाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।'

साहित्यकार हेम भण्डारीलाई कवितामा जीवन्त र मौलिक विचार हुनुपर्छ भन्ने लाग्छ । 'कवितामा मौलिक विचार हुनुपर्छ, त्यो अनुरुप दाहालका कविता मौलिक र व्यावहारिक ज्ञानमा आधारित छन्', उनले भने, 'आयुर्वेदिक  चिकित्सकका रूपमा उहाँले रचना गरेका कविता जीवन उपयोगी छन् ।'

कवितामा चिन्ता, चिन्तन र चैतन्य सबै भएको आफूलाई अनुभव भएको सुनाउँदै साहित्यकार डा. नवराज लम्सालले भने, 'उज्यालो खोज्दै गाउँबाट सहर पस्नेहरूको मनोद्वन्द्व र सङ्घर्ष हिजोदेखि आजसम्म उस्तैउस्तै पाउँछु, मनोद्वन्द्वकै दलदलमा सृजनाको लत बस्यो भने सृजनाकै सिर्कनाले हृदयमा हान्छ र दुख्छ पनि ।'

नाटकार पुरु लम्साल, साहित्यकार युवराज नयाँघरे, कवि निमग्ना घिमिरेले दाहालका कविता जीवन उपयोगी भएको अनुभव सुनाए ।  ‘कलमका साथी’ नामक संस्थाले उक्त कृतिमाथिको विमर्श गरेको थियो । कवि दाहालले आफ्नो कर्म र भोगाइका अनुभवलाई प्रकाशन गर्न पाउँदा खुसी व्यक्त गरे । 'मैले धेरै कविता लेखेँ, यस्तो पनि कविता हुन्छ भनेर कति च्यातेर फालेँ', उनले अनुभव सुनाए, 'मैले लेखेका कविता आज प्रकाशन गरेर छलफल गर्न पाउँदा खुसी लाग्यो ।'

सङ्खुवासभामा जन्मिएका कवि दाहाल पेसा र लेखनमा फरकफरक बाटोमा आफूलाई हिँडाइरहेका छन् । उनका फुटकर गीत, कविता, समसामयिक समीक्षा र समालोचनाहरू प्रकाशन भइसकेका छन् । उनले गीत सङ्ग्रह प्रकाशन गर्ने तयारी गरिरहेका छन् । कवि दाहाललाई जीवन अमूल्य भएको हुँदा आत्महत्याको बाटो रोज्नु हुँदैन भन्ने लाग्छ । जसलाई उनले कवितामार्फत यसरी व्यक्त गरेका छन् ।

‘तिमी आत्महत्याको बाटो लाग्नुअघि सम्झ त
तिमी नहुनु भनेको बालाई के नहुनु हो ?
आमालाई के नहुनु हो ?
तिमी पनि त ईश्वरको अंश को
अंश आफैँ असमयमा झरेर जाँदा
ईश्वरलाई के हुनु हो ?’

- कालिका खड्का/ रासस

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update