Harsamaya
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी

काठमाडौं - सिमेन्टको मूल्य वृद्धिका बारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदै छन् ।

सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको छ ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका थिए । उनका अनुसार मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा पुग्नेछन् ।

सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य प्रति बोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update