Harsamaya
ओलम्पिक कमिटीका अधिकांश निर्विरोध, अध्यक्षमा भने तीनजना बीचमा निर्वाचन
फाइल फोटो
काठमाडौं -  नेपाल ओलम्पिक कमिटिको भावी नेतृत्वका लागि अब अध्यक्षमा मात्रै प्रतिस्पर्धा हुने भएको छ ।
 
 अध्यक्षका लागि हालका अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका अध्यक्ष तेजबहादुर गुरुङ प्रतिस्पर्धामा रहने भएका छन् ।
 
आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दर्ता भएको थियो । र, मंगलबारसम्म उम्मेदवारी फिर्ता लिने समयसीमामा उनीहरू कसैले पनि उम्मेदवारी फिर्ता नलिए पछि तीनैजना बीचमा प्रतिस्पर्धा हुन लागेको हो । 
 
उता, कबड्डीकी तुलशा थापा  र जुडोका दीपकहर्ष बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्ष्यमा वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणा निर्विरोध निर्वाचित भएका छिन् ।
 
प्रतिस्पर्धामा रहेका धेरैजसोले उम्मेदवार फिर्ता लिए पछि एनओसीमा अब पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य,सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कशापती निर्विरोध हुन पुगेका छन् ।
 
महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ पनि निर्विरोध निवार्चित हुदाँ  सहमहासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घले  तथा  सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ पनि निर्विरोध हुन सफल भएका छन् ।
 
यता एनओसीको भावी कार्यसमितिमा सदस्यमा जिम्न्यास्टिककी गीता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भएको जनाइएको छ ।
 
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update