लुम्बिनी - लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ। गत ४ पुसदेखि सञ्चालन गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट समेत सञ्चालन गरिने भएको हो ।
देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा, बेलहिया, एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म सीधा बिजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए । उनका अनुसार हप्ताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्थिधातु रहेको रामग्रामबाट बिजुली बस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको हो ।
कोषाध्यक्ष भट्टराईले कोषले बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीलाई सेवा दिने गरी बिजुली गाडी ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर सञ्चालन गरिएको बताए । उनले रामग्राम, देवदह र पण्डितपुरजस्ता ऐतिहासिक पुरातात्त्विक क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्ने गरी देवदह कार्यालयमा हप्ताको दुई दिन बसेर सेवा दिन थालेकोसमेत बताए ।
पुरातात्त्विक धार्मिक क्षेत्रका स्थानीय पालिका, सामुदायिक संगठन र संस्थाहरूसँग मिलेर कोषको नीति स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँचवटामध्ये दुईवटा बस धम्मयात्रा लेखेर परीक्षणस्वरूप सञ्चालन गरेको हो ।