काठमाडौं - नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले अनधिकृत फिजियोथेरापी सेवा रोक्न आग्रह गरेको छ । संघका अध्यक्ष समिद कतिला श्रेष्ठले बिरामीको उपचार जस्तो संवेदनशील विषयमा हेलचेक्र्यायी दण्डनीय मात्र नभइ यसले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताएका छन् ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले घरमै स्वास्थ्यकर्मी पठाउने कम्पनी र केही स्वास्थ्य केन्द्रले फिजियोथेरापी सेवा प्रदान गर्ने क्रममा अनाधिकृत व्यक्तिबाट सेवा दिइरहेको सूचना संघलाई प्राप्त भएको जनाएको छ । संघका अनुसार अनधिकृत फिजियोथेरापी सेवाका गतिविधि नेपालका विभिन्न स्थानमा भइरहेको विषयमा धेरै उजुरीहरू प्राप्त भएका छन् ।
संघले यस्ता गैरकानुनी गतिविधिलाई रोक्न आवश्यक सबै कदम चाल्ने र सम्बन्धित निकायलाई रिपोर्ट गर्ने प्रक्रिया अघि बढाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । संघले यस्ता गतिविधिको जानकारी भएमा नगरपालिका वा स्थानीय निकायको स्वास्थ्य शाखामा, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, वा जिल्ला प्रशासन कार्यालयमा तुरून्तै जानकारी गराउन आग्रहसमेत गरेको छ ।