चितवन राष्ट्रिय निकुञ्जले भन्यो - साँझ एक्लै नहिड्नू
चितवन - चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुवे देखिएकाले साँझ ५ बजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिक रूपमा मात्र पठाउने गरिएको छ ।
उनले भने ‘निकुञ्ज हुँदै कसराको बाटो प्रयोग गर्नेलाई साँझ ५:३० बजेपछि एक्लै यात्रा नगर्न अनुरोध गरेका छौँ । ’ समूहमा यात्रा गर्न या ठूला सवारीसाधनको पछि मात्रै यात्रा गर्न अनुरोध गरिएको उनले जानकारी दिए । ध्रुवे हात्ती निकुञ्ज मुख्यालय क्षेत्र र कसरा सडक क्षेत्रमा रहेकाले सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।
भरतपुर–माडी दैनिक पाँच सय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन् । साँझपख बढीजसो दुई पाङ्ग्रे सवारीसाधन गुड्ने गरेका छन् । सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापा मगरले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय